काठमाडौं– खेलकुद मन्त्रालयले राष्ट्रिय क्रिकेट टिमको सम्मानका लागि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम आयोजना गरेको थियो। दुई साताअघि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता भन्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएपछि सरकारले नेपाली टिमको सम्मान कार्यक्रम राखेको थियो।
शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीको ६७औं जन्मदिन परेको थियो। त्यसैले खेलकुद मन्त्रालयले खेलाडीलाई नगदसहित सम्मान गर्दा प्रधानमन्त्री ओलीले केक र मायाको चिनो प्रदान गर्दै शुभकामना दिए।

मन्त्रालयले प्रदान गरेको केक प्रधानमन्त्री ओलीले काटेर पहिला नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई खुवाएका थिए। केक काटेपछि प्रधानमन्त्री ओलीले खेलाडीलाई सरकारले यसअघि घोषणा गरेको ३ लाख र मनद भण्डारी स्पोर्ट्स एकेमेडीको १ लाख गरी जनही नगद ४ लाख रुपैयाँ प्रदान गरेका थिए। सम्मानपछि कार्यक्रममा बोलेका कप्तान पारस खड्काले सम्पूर्ण क्रिकेट खेलाडीको तर्फबाट प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकाना दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।