काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई नगदसहित सम्मान गरेका छन्। ओलीले शुक्रबार प्रधानमन्त्री निवास बलुवाटारमा आयोजिक कार्यक्रममा एक दिवसीय विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई नगदसहित सम्मान गरेका हुन्।
कार्यक्रममा खेलाडी तथा अफिसियललाई यसअघि सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँ प्रदान गरिएको थियो। यस्तै, मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको जनही १ लाख रुपैयाँ पनि सोही कार्यक्रममा प्रदान गरियो।
क्रिकेट टिमको सम्मान भने निर्धारित समयभन्दा १ घन्टा ४५ मिनेट ढिलो सुरु भएको थियो। आइसिसी विश्वकप छनोट प्रतियोगिताको तयारी गरिरहेको नेपाली टिमलाई सम्मानका लागि दिउँसो ३ बजे बोलाइएको थियो। खेलाडी ठिक ३ बजे नै बलुवाटार पुगे।

तर, प्रधानमन्त्रीको शुक्रबार ६७ औं जन्मदिन परेकाले क्रिकेटरको सम्मानमा ढिलाइ भएको थियो। शुभकामना दिन प्रधानमन्त्री निवासमा बिहान सबेरैदेखि शुभेच्छुकको भीड लागेको थियो। अन्ततः प्रधानमन्त्री ओली पौने ५ बजेपछि मात्र कार्यक्रमस्थलमा प्रवेश गरे।

यसैबीच, विश्वकप छनोट खेल्न शनिबार जिम्बावे प्रस्थान गर्ने नेपाली टिमलाई शुक्रबार बिदाइ पनि गरिएको छ। बिदाइ कार्यक्रमपछि प्रधानमन्त्री ओलीले नेपाली खेलाडीलाई आत्मविश्वासका साथ मैदान उत्रन शुभकामना दिए। उनले अब देशले स्थायी सरकार पाएकाले खेलुकदमा लागानी गर्ने पनि प्रतिबद्धता जनाए। कप्तान पारस खड्काले नेपाली खेलकुद क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री ओलीसमक्ष अग्रह गरेका थिए।

नेपाली क्रिकेट टिम शनिबार साँझ जिम्बावे प्रस्थान गर्नेछ। जिम्बावेमा एक दिन आराम गरेपछि नेपालले फागुन १५ मा युएई र फागुन १७ मा हङकङसँग वार्मअप खेल खेल्नेछ।
फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह 'बी'मा छ। छनोटमा नेपालले पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।