जनकपुर- उदाउँदो सूर्यलाई अर्घ्य दिंदै चार दिवसीय मिथिलाञ्चलकाे प्रमुख पर्व छठ सम्पन्न भएको छ।
यसवर्ष छठको चौथो तथा अन्तिम दिन आज व्रतालुहरु बिहान जलाशयमा स्नान गरी उदाएका सूर्यदेवतालाई अर्घ्य दिएपछि छठ विधिवत रूपमा सम्पन्न भएको हो।
तराई क्षेत्रमा विशेष महत्वका साथ छठ पर्व मनाउने गरिन्छ। छठका लागि भन्दै सूर्यको पूजा र अर्घ्य दिन नदितलाउ तथा खोला सिँगारिएको थियो।
पछिल्लो समय यो पर्व काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा र पहाडी समुदायमा समेत मनाउन थालिएको छ। ३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाँउदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ।
तेस्रो दिन शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो। कात्तिक शुक्ल षष्ठी दिनमा प्रसादका रुपमा बनाइएको ठकुवा, भुस्वा, पुरी कचवनिया र फलफुल सहितका प्रसाद समाग्रीहरु लिएर पोखरी घाट पुर्याइएको थियो। प्रसादहरुमा नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, सखरखन्ड सहितका विभिन्न स्थानीय कृषि उत्पादनहरु समेत प्रसाद समाग्रीको रुपमा चढाइने भएकाले यसलाई कृषिको पूजाका रुपमा समेत लिने गरिन्छ।
सम्पूर्ण समाग्रीसहित पोखरी, सरोबर तथा घाट पुगेका व्रतालुहरुले शनिबार साँझ दिप, धुप, अगरपती प्रज्वलन गरी सूर्य देवता र छठीमाताको पूजा आराधना गरी राती पोखरी घाटमै जाग्राम बसेका थिए।
स्थानीय रुपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दुर लगाएर अक्षता र फूलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवतासमक्ष अर्पण गरेका थिए।
तेस्रो दिन राति जनकपुर तथा प्रदेश २ विभिन्न नदी, तलाउ तथा जलासयमा भक्तजनहरु प्रसादको सुरक्षाका लागि छठीमाता पूजाको गीत र सांस्कृतिक कार्यक्रम गरी जाग्राम बसेका थिए। झकिझकाउ पारिएका जलाशय तथा घाटहरुमा चम्किएको झिलिमिली बत्ती तथा छठीमाताको नाममा गुन्जिएको मैथिली लोकसंगीत हेर्नलायक देखिन्थ्यो।
छठकै अवसरमा प्रदेश २ सरकारले विशेष व्यवस्था गरेको थियो। सुरक्षा सतर्कता बढाइनुका साथै आइतबार पनि प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिवसीय रुपमा मनाइने यो पर्वमा वर्तालुहरु ३६ घण्टा सम्म निर्जल उपवास बस्ने गर्छन्।
सूर्यको उपयोगी किरणको अभाववाट हुने कुष्ठरोग लगायतका छालाजन्य रोग व्याधिबाट मुक्तिका लागि समेत यो पर्व विशेष महत्व राख्दछ।
विना भेदभाव सबै जाति र समुदाय पोखरि, नदी र जलासयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम सावित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।