विश्वचर्चित एवम् शक्तिशाली कविता हो 'DIE SLOWLY'। उक्त कविता कसको हो भन्नेमा आजसम्म विवाद छ। प्रसिद्ध कवि पाब्लो नेरुदाको भनिए पनि यो उनको नभएको दाबी गर्छन् कतिपय लेखक तथा समीक्षकहरू। केही साइटहरूमा उक्त कविता मार्था मेडिइरोसको भनेर टिप्पणी पनि गरिएको छ। उक्त शक्तिशाली कवितालाई कवि रुपेश श्रेष्ठले नेपालीमा भावानुवाद गरेका छन्।
जो आफ्नै आदतको दास बन्छ
हरेक दिन एउटै बाटो हिँड्छ
जो कहिल्यै बदल्दैन गति
मोल्दैन अलग रङको कपडा लगाउने खतरा
बोल्दैन र गर्दैन बोल्नुको अनुभव
ऊ विस्तारै मर्दै जान्छ।
आफ्नै आकांक्षाहरूलाई तिलाञ्जली दिन्छ जो
कि कालो मात्रै चाहन्छ, कि सेतोमात्रै चाहन्छ
जो आँखाहरूलाई भिजाउन सक्ने
उदासीहरूलाई मुस्कानमा बदल्न सक्ने
गल्ति र अनुभूतिहरुको अनुहारमा धुकधुकी उफार्न सक्ने
यस्ता अनुभवहरूको लस्करमा जो पूर्णविराम लगाउँछ
ऊ विस्तारै मर्दै जान्छ।
जो जीवनमा कुनै उलटफेर चाहँदैन
काममा उही उदासीमा झुण्डिएर हिँड्छ
मोड्नै सक्दैन निश्चितताको बाटो अनिश्चयतर्फ
त्याग्दैन कुनै भलाद्मीको उपदेश
जो कुनै सपनाको पिछा नै गर्दैन
ऊ विस्तारै मर्दै जान्छ।
ऊ विस्तारै मर्दै जान्छ
जो यात्रामा निस्किँदैन
पढ्दैन पुस्तक, सुन्दैन संगीत
भेट्दैन आफूभित्र कुनै सौन्दर्य
ऊ विस्तारै विस्तारै मर्दै जान्छ।
ऊ विस्तारै मर्दै जान्छ
जो भत्काउँछ आफैंले आत्म-स्वाभिमान
अस्वीकार गर्छ सहयोग
जो आफ्नै दुर्भाग्यलाई दुत्कारिरहन्छ
र सरापीरहन्छ नरोकिने निर्दोष झरिलाई
सुरु हुनुअघि नै जो रोकिन्छ
न सोध्छ नजानेका कुरा
न बोल्छ जानेका कुरा
ऊ विस्तारै विस्तारै मर्दै जान्छ।
रोक त्यो मृत्युलाई
जसले तिमीलाई अणुअणुमा सिध्याइरहेछ तिमीलाई
सम्झाऊ आफूलाई
कि जल्दो धैर्यले मात्रै पुर्याउनेछ तिमीलाई
भव्य सुखको सम्मुखमा
कि बाँच्नलाई चाहिन्छ निकै ठूलो यत्न
कि सास फेर्नूमात्रै होइन बाँच्नुको अर्थ।
०००
तस्बीर : 'द अर्डर अफ द गुड डेथ'बाट साभार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।