काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१-८२ सम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेको छ ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले पछिल्ला वर्षहरूमा सरकारी खर्चतर्फ बेरुजु निरन्तर बढ्दै गएको अवस्थाले सार्वजनिक निकायहरूको पारदर्शिता, जवाफदेहिता तथा वित्तीय अनुशासन कमजोर बन्दै गएको संकेत गरेको बताएका छन् ।
उनले बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राख्दै आर्थिक अनुशासन कायम गर्न सम्बन्धित निकायका पदाधिकारी थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रपतिले अनियमित खर्च नियन्त्रण गरी वित्तीय अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकमा सुशासन, दिगो विकास, शान्ति र समृद्धिप्रतिको नागरिक तथा युवा पुस्ताको अपेक्षा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिवेदनमा औँल्याइएका विषयहरूले सम्बन्धित निकाय तथा सरोकारवालालाई जिम्मेवार बनाउने अपेक्षा पनि उनले व्यक्त गरे ।
साथै, महालेखापरीक्षकको कार्यालय को भूमिका आर्थिक अनुशासन कायम गर्न महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संस्थागत क्षमता विकास, पेशागत दक्षता अभिवृद्धि तथा आन्तरिक सुशासन सुदृढीकरणमा कार्यालय अझ सक्रिय हुनुपर्ने धारणा राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।