काठमाडौं– दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) का लागि अक्सन सकिएको छ। सहभागी ६ टिमले १२ खेलाडी अक्सनमार्फत भित्राएका छन्। १–१ जना रणनीतिक खेलाडी यसअघि आवद्ध भइसकेका छन्।
बुधबार भएको अक्सनमा १ सय ८५ खेलाडी समावेश थिए। जस मध्ये ७२ खेलाडी मात्र विक्रि भए। केही चर्चित खेलाडी बिक्न सकेनन्। केही खेलाडीले भने डिपिएलमा सहभागि हुन नाम नै दर्ता गराएका थिएनन्।
डिपिएलमा ए श्रेणीका चार खेलाडी बिक्रि हुन सकेनन्। जसमा स्पिनर सञ्जम रेग्मी, राहुल विक, मेहबुब अलाम र चन्द्र साउद छन्। ए श्रेणीका १६ खेलाडी मध्ये १२ खेलाडी भने बिक्रि भए।
यता बी श्रेणीका केहि चर्चित खेलाडीलाई आवद्ध गर्न कुनै टिमले चासो देखाएनन्। जसमा हसिम अन्सारी, विक्रम शोव, सुशान्तसिंह थापा, अदिल खान, अनिल खरेल, सुमित महर्जन, शुभेन्दु पान्डे, सन्दीप सुनार, भीम सार्की प्रकास विष्ट लगायत छन्। विक्रम राष्ट्रिय टिममा परिसकेका खेलाडी हुन्। हसिम राष्ट्रिय टिमको प्रारम्भिक टिममा परेका खेलाडी हुन् भने अन्य खेलाडीले उमेर समूहको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए।
यता राष्ट्रिय टिममा २ चर्चित खेलाडी पनि डिपिएलमा देखिने छैनन्। जसमा मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर र युवा स्पिनर सन्दीप लामिछाने छन्। शरद आफ्नी श्रीमती निसा अधिकारी गर्भवती भएकाले उनलाई साथ दिन अमेरिका जान लागेका छन्। जसले गर्दा उनले डिपिएल नखेल्ने निर्णय गरेका हुन्। सन्दीप भने इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएकाले डिपिएलमा खेल्नेछैनन्। डिपिएल र आइपिएल एकै समयमा हुँदैछ। त्यसलै सन्दीपले डिपएल गुमाउँन लागेका हुन्।
ओपनिङ ब्याट्सम्यान अनिल मन्डल पनि डिपिएलमा देखिने छैनन्। उनले डिपिएल खेल्न आवेदन नै हालेका थिएनन्। महेश क्षेत्री र दिपेश खत्रीले पनि अक्सनमा सहभागी हुन नाम दर्ता गराएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।