गत आइतबार लञ्चका लागि बबरमहलस्थित एउटा रेस्टुरेन्ट पुगेकी नवीना लामाको ध्यान एक्कासी एउटा कपडा पसलतर्फ मोडियो। उनले आफूले छानेको ‘लेनिन ब्रान्ड’को खाकी रंगको कपडा देखाउँदै राय मागिन्, ‘यसको सुट सिलाउँदा कस्तो होला?’
कपडा पसलेले सबैलाई उछिन्दै प्रतिक्रिया दिए, ‘बढिया छ, गर्मीमा पनि शीतल दिन्छ।’
नवीनाले व्यापारीको कुरामा खासै चासो दिइनन्। कपडा छान्नुको कारण खुलाउँदै भनिन्, ‘अबको केही दिनमा प्रतिनिधिसभाको बैठक सुरु हुँदै छ। म त विद्यार्थी राजनीतिबाट आएको मान्छे, पहिले–पहिले जसरी हिँड्दा पनि हुन्थ्यो। तर, अब त सांसद जस्तो देखिने कपडा लगाउनु परेन?’
उनले कपडा छान्ने क्रम बीचैमा रोकिन्। सबैसँग लञ्चमा कुराकानी गर्ने भन्दै फेरि रेस्टुरेन्टतर्फ मोडिइन्।
गफैगफको बीच मैले ठट्टा गरेँ, ‘कपडा विद्यार्थीको जस्तो नभएर हिरोइनको जस्तो पर्ला नि!’
यति मात्र के भनेको थिएँ, नवीना एकछिन अतीतमा हराइन्। मुसुक्क हाँस्दै भनिन्, ‘पुरानो कुरा अझै सम्झिरहनुभएको छ है।’
केही वर्षअघि मैले नवीना लामा विद्यार्थी राजनीतिमा हुँदा एउटा संवाद गरेको थिएँ। त्यो संवाद राजनीतिको विषयमा नभएर उनको अभिनय–यात्राबारे थियो।
त्यो समय उनी नेकपा एमाले निकट विद्यार्थी संगठनमा आबद्ध त थिइन्। तर, अहिले जस्तो चर्चा थिएन। त्यसैले तामाङ समुदायका फिल्मकर्मीले मलाई उनको परिचय गराएका थिए, हिरोइनका रुपमा।
२०५९ सालमा उनी अभिनीत तामाङ फिल्म ‘म्हेन्दोला’ रिलिज भएको थियो। तामाङ समुदायमा हिट उनको फिल्म काठमाडौंका बालाजु, स्वयम्भू, बौद्ध र काठमाडौं बाहिर हेटौंडा र निजगढका हलमा चलेको थियो।
फिल्ममा अभिनय गर्दा उनी अनेरास्ववियु काभ्रेको क्षेत्रीय कमिटी सदस्य थिइन्। तर, मेरो भेट उनीसँग अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदा भएको थियो।
फिल्म खेल्नुपूर्व नै उनको राजनीतिक यात्रा सुरु भइसकेको थियो। तर पनि दाइ नाता पर्नेको फिल्म भएकाले उनले नाइँ भन्न सकिनन्।
‘परिवर्तनका लागि राजनीति जरुरी छ’ भन्ने बुझिसकेकी नवीनाले त्यही एउटा फिल्मपछि आफ्नो गन्तव्य फिल्मभन्दा राजनीतिलाई नै बनाइन्।
नवीना १२ वर्षको उमेरमा काभ्रेको मादनकुँडारीस्थित महेन्द्र माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य भइसकेकी थिइन्। यसपछि विद्यालयको अनेरास्ववियु अध्यक्ष, क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै अखिलको शीर्ष नेतृत्व सम्हाल्न पुगेकी हुन्।
पुरानो कुरा सम्झँदै उनले भनिन्, ‘म नबसेको अनेरास्ववियुको कुनै कमिटी नै छैन।’
एसएलसीको अध्ययन पूरा भएपछि उनलाई वन विज्ञान पढ्ने ठूलो धोको रहेछ। यसका लागि उनले पोखरा पुगेर प्रवेश परीक्षा पनि दिएकी थिइन्। तर, नाम निस्किएन। त्यसपछि उनी काठमाडौंको बानेश्वर क्याम्पसमा भर्ना भइन्। राजनीतिक आबद्धता र सक्रियता छँदै थियो, यसलाई अझ तीव्र बनाइन्।
‘बानेश्वरस्थित संसद् भवनको बाटो ओहोरदोहोर गर्दा कहिले यो ठाउँमा प्रवेश गर्न सकिन्छ होला जस्तो लाग्थ्यो’, विगत सम्झँदै उनले भनिन्।
विद्यार्थी जीवनमा उनले कहिल्यै सांसद बन्छु भन्ने लक्ष्य बनाइनन्। तर, उनलाई थाहा थियो– खुड्किलो त चढ्नैपर्छ! त्यही अनुसार उनको खटाइ पनि हुन्थ्यो।
भन्छिन्, ‘सिँढी चढ्दै गयो भने टपमा त पुगिन्छ नै। मेरो मान्यता पनि यो भन्दा फरक छैन।’
अनेरास्ववियुमा कार्यरत रहँदा थप माथि चढ्ने सिँढी अर्थात् अध्यक्ष भइसकेपछि उनलाई पार्टी राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने लागेको रहेछ। त्यतिबेला पनि उनले सांसद बन्ने कल्पना गरेकी थिइनन्।
यहीबीच चुनाव आयो। उनलाई पनि लागेछ– वर्षौंदेखि पार्टीभित्र निर्वाचित भइरहेँ। जनतामा एकपल्ट ‘टेस्ट’ किन नगर्ने?
यसैले उनले काभ्रे–१ बाट प्रत्यक्षमा प्रतिनिधिसभा सदस्य लड्ने आकांक्षा पार्टी नेतृत्वसमक्ष दर्शाइन्। वाम एकता, भागबन्डा लगायतका कुराले प्रत्यक्षमा उनले टिकट त पाउन सकिनन्। तर, महिला, आदिवासी जनजाति कोटाबाट उनी सांसद बनिन्।
केही दिनअघि प्रतिनिधिसभा सदस्यका रुपमा प्रमाणपत्र ग्रहण गरेपछि उनलाई चिन्नेहरू भन्न थालिसकेका छन्, ‘माननीयज्यू।’ तर, उनी आफूलाई भने माननीय भएको अनुभूति छैन।
‘कुनै पनि पद निर्वाचनबाट पाएपछि मात्रै जिम्मेवारी महसुस गर्ने बानी परेछ’, फिस्स हाँसिन्। उनी समानुपातिकबाट सांसदमा मनोनीत भएकी हुन्।
सांसद भइसके पनि उनले विद्यार्थीका समस्या र गुनासा सुन्नमै समय खर्चिनुपर्ने अवस्था छ। यसबाट बचेको समय उनी आगामी मन्त्रिमण्डलमा महिलालाई पनि पुरुष बराबर स्थान दिनुपर्छ भन्ने लबिङमा बिताइरहेकी छन्।
‘मैले पाउनुपर्छ भन्ने होइन, महिलाले पाउनुपर्छ’, उनी भन्छिन्, ‘धेरै महिलाले राष्ट्रिय निर्वाचन र पार्टी संगठनमा अब्बल भएको प्रमाणित गरिसक्नुभएको छ। उहाँहरूले अवसर पाउनुपर्छ भन्ने मेरो धारणा हो।’
अहिलेसम्म उनी विद्यार्थी राजनीतिमा रहेर नेतृत्व गरिन्। उनको विचारमा विद्यार्थी राजनीति राज्यको प्रतिपक्ष जस्तो काम हो। त्यस क्रममा नीति निर्मातालाई दबाव दिने भूमिकामा आफूहरु अभ्यस्त भए पनि अहिले सांसद भएपछि भूमिका बदलिएको उनको बुझाइ छ।
उनले भनिन्, 'यसअघि आफूलाई लागेका विषयमा सडकमा आन्दोलन गरेर भए पनि माग पूरा दबाव दिने गरिन्थ्यो। अब माग गराउने ठाउँमा आफैं आइपुगेको छु। त्यो अनुसार मैले आफूलाई तयार पार्नुपर्छ।'
यसका लागि उनले अग्रज सांसदहरुका अनुभव सुन्ने, नियम-कानुनमा कमजोरीहरु खुट्याउने, संसदमा खेल्नुपर्ने भूमिकाबारे अध्ययन तथा विश्लेषण गर्ने गरिरहेकी छन्।
संसदमा उनले कुन विषयलाई प्राथमिकतासाथ उठाउने तयारी गरेकी छन् त ?
'पहिलो प्राथमिकता शिक्षा नै हो', उनले भनिन्, 'शिक्षामा रुपान्तरण र त्यसमा पनि व्यावहारिक जीवन पद्धतिमा उपयोगी हुने शिक्षा प्रणाली लागू गर्न आवाज उठाउनेछु।'
यसपछि आफू जस्तै युवा जमात बेरोजगारी समस्याले पिल्सिएको उनलाई बिझाइरहेको छ। बेरोजगारी न्यूनीकरणका लागि पनि संसदमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्ने उनको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।