काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा आज बन्द सत्र चलिरहेको छ।
अपराह्न ३ बजेपछि सुरू भएको बन्द सत्रमा सुरूमा अध्यक्ष केपी शर्मा ओलीले बोलेका थिए।
त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोलेका छन्। पोखरेलले छुट्टै अवधारणा पत्र प्रस्तुत गरेका छन्।
गत शुक्रबारको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणा पत्र राख्न दिने सहमति गरेको थियो।
पोखरेलले महासचिव शंकर पोखरेललाई केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमै पुगेर अवधारणा पत्र बुझाएका थिए।
साथै उनले आफूले उठान गरेका विषयहरू पनि पार्टीले बन्द सत्रमा पेस गर्ने दस्तावेजमा समावेश हुनुपर्ने बताएका थिए।
बन्दसत्रमा बोल्ने क्रममा बिगतमा माओवादीसँग गरिएको एकताको प्रक्रिया नमिलेका कारण भंग भएको समेत बताए । पोखरेलले नेकपा एमालेको स्थापनादेखि हालसम्मका महाधिवेशनहरुको आयोजना गर्ने संयोग आफूलाई मिलेको समेत सुनाए ।
पोखरेलले अहिले पार्टीमा विचार र नेतृत्वको भन्दा पनि कार्यशैलीको समस्या रहेको भन्दै यहि स्थिति रहेमा कुनै पनि दिन दुर्घटनाग्रस्त बन्ने पीर सबैमा रहेको बताए । उनले पार्टीलाई विधि पद्दति र सामुहिक नेतृत्वबाट चल्ने प्रणालीमा लैजानुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।