काठमाडौं– हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने र कप्तान पारस खड्काले नेपालीको शिर उँचो बनाएको भन्दै प्रशंसा गरेका छन्।
बिहीबार राजधानीमा सानिमा बैंकले सन्दीप र पारसलाई सम्मान गर्न आयोजित कार्यक्रममा मह जोडीले क्रिकेट टिमले नेपाली भनेर गर्व गर्न पाउनेगरी ठाउँ दिएको बताएका हुन्।
'पहिला मेरो छोराले एउटा गीत गाएको थियो। अर्जेन्टिनालाई समर्थन गर्दा साली रिसाउने, अर्को टिमलाई सपोर्ट गर्दा अर्को रिसाउने। विश्वकपमा नेपाल कहिले पुग्ने हो। नेपाल नेपाल नेपाल भनेर कहिले समर्थन गर्ने हो भन्ने गीत गाएको थियो,' मनदकृष्णले भने, 'फुटबल त बाँकी छ। क्रिकेट त पाइला चालिरहेको छ। यो नेपालीका लागि गौरवको कुरा हो। जितेर आएको सुन्न पाए झन् कस्तो हुन्थ्यो होला। धेरैधेरै शुभकामना।'
हरिवंशले सन्दीपले सचिन तेन्दुल्करको स्थान लिएको भन्दै ठट्टा गरे। 'पहिला-पहिला हामी भारतका सचिन तेन्दुल्करलाई नेपालको नेवार हो भन्थ्यौं। नेवारी तन्डुकार बिग्रिएर तेन्दुल्कर भनेर दाबी गर्थौं,' हरिवंशले भने, 'तर आज हामीले त्यस्तो दाबी गर्नै परेन। हाम्रो सन्दीप लामिछानेले नेपालको नाम उँचो पारेका छन्।' उनले कप्तान पारसको नाम लिँदा पनि गौरव लाग्ने बताए।
मह जोडीपछि आफ्नो धारणा राखेका कप्तान पारसले सन्दीप आइपिएलमा छनोट हुनु नेपालका लागि ठूलो खुसीको क्षण भएको बताए।
यसैगरी, सन्दीपले नेपालको नाम विश्वभर फैलाउन आफ्नो क्षमताले भ्याएसम्म अझै राम्रो खेल्ने बताए। 'नेपाललाई विश्वकप खेलाउने र टेस्ट मान्यता दिनका लागि सक्दो मिहिनेत र प्रयास गर्नेछौं। अझै राम्रो वातावरण भयो भने हामी धेरे अगाडि पुग्नेछौं। यो हाम्रो प्रतिवद्धता हो,' सन्दीपले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।