काठमाडौं– दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको अक्सन (बोलकबोल) मा ६ टिमका लागि ७२ खेलाडीको भाउ लागेको छ।
प्रत्येक टिमले १२–१२ खेलाडी अक्सनमार्फत आफ्नो टिममा भित्राएका छन्। प्रत्येक टिमलाई १२ खेलाडी आवद्ध गर्न दिइएको उच्चतम ११ लाख रुपैयाँ मूल्यमा विराटनगर किंग्सले सबैभन्दा बढी ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ। सिवाइसी अत्तरियाले सबैभन्दा कम ७ लाख २० हजार खर्च गरेको छ।
आकर्षकको रुपमा रहेको ए श्रेणीका १६ मध्ये १२ खेलाडी बिक्रि भएका छन्। ४ खेलाडी बिक्न सकेनन्। ए श्रेणीका ४ खेलाडी सबैभन्दा महँगा भए।
महँगा खेलाडीमा अलराउन्डर सागर पुन, तीव्र गतिका बलर करण केसी, स्पिनर बसन्त रेग्मी र अलराउन्डर मोहम्मद आरिफ शेख छन्। सागर र बसन्तलाई विराटनगर किंग्सले आवद्ध गर्दा करण र आरिफ महेन्द्रनगरमा भित्रिए। चार जना १ लाख ५० हजारमा बिक्रि भएका हुन्।
पृथु बाँस्कोटा १ लाख २० हजार रुपैयाँमा विराटनगरमा आवद्ध हुँदा नरेश बुढाऐर पनि १ लाख २० हजारमै काठमाडौं गोल्डेन्समा भित्रिएका छन्। यसैगरी जितेन्द्र मुखिया रुपन्देही च्यालेन्जर्समा ९० हजारमा भित्रिएका छन्। प्रदीप ऐरी रुपेन्देही, सुवास खकुरेल सिवाइसी अत्तरिया, अभिनास कर्ण महेन्द्रनगर, मञ्जित श्रेष्ठ विराटनगर र राजेश पुलामीमगर टिम चौराह धनगढीमा आवद्ध भएका छन्। पाँचै जना ८०–८० हजार रुपैयाँमा आवद्ध भएका हुन्।
ए श्रेणीका ४ खेलाडी भने बिकेनन्। पहिलो चरणमा नबिक्ने ए श्रेणीका खेलाडीमा अलराउन्डर मेहबुब अलाम, अफस्पिनर सञ्जम रेग्मी, स्पिनर राहुल विक र तीव्र गतिका बलर चन्द्र साउद हुन्।
विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था छ। अब विदेशी बाहेक अन्य खेलाडी टिममा आवद्ध भएका छन्।
धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने छ।
रणनीतिक खेलाडी भने यसअघि नै घोषणा भइसकेको छ। महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यस्तै, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।
उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
हेर्नुहोस् डिपिएल टिमले अक्सनबाट भित्राएका खेलाडी







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।