काठमाडौं- वाइबी घलेको नामले नेपाली फुटबल बुझेकाहरु अहिले पनि रोमाञ्चित हुन्छन्। हुन पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल वाइबीकै नाममा छ। गोलका कारण मात्रै होइन वाइबीसँगै खेल्नेहरु उनको झोँकी तर अनुशासित स्वभाव र खेलप्रतिको समर्पण सम्झिएर अहिलेसम्म दंग पर्छन्।
१९८२ को नोभेम्बर २१ को दिन नेपालले एसियाली खेलकुदको फुटबलमार्फत आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको थियो। त्यसअघि राष्ट्रिय टिम नै बनाएर आगा खाँ गोल्डकप, डिसिएम कप जस्ता प्रतियोगिताहरु खेल्न गए पनि त्यो मान्यताप्राप्त राष्ट्रिय टिम थिएन। यसैले एसियाली खेलकुदमा कुवेतविरुद्ध वाइबीले गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो।
एसियाली खेलकुदमा नेपालको इतिहास निकै खराब छ। त्यसैले हरेक अन्तर्राष्ट्रिय सहभागितामा गोलको खडेरी हुँदा वाइबीको नाम फुटबल समर्थकमाफ चर्चामा रहन्छ। एसियाली खेलकुदमा त नेपालले खेलेका १८ खेलमा ७० गोल खाएको छ। जहाँ नेपाली खेलाडीको नाममा १ गोल मात्रै छ। जुन १९८२ मा कुवेतसँग ३-१ ले हर्दा उनै वाइबीले गरेको गोल हो। पछिल्लो पटक २०१८ को एसियाली खेलकुदमा पाकिस्तानसँग २-१ ले हार्दा पनि एक गोल आत्मघाती गोलका रुपमा उपहार पाएको थियो।
एसियाली खेलकुदमा एक मात्र र पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै नेपालको तर्फबाट कीर्तिमान बनाएका उनै वाइबी पछिल्लो ११ वर्षदेखि अवस्थ छन्। प्यारालाइसिसले थलिएका उनी चार महिना अघि ब्लाडर र स्टोनको शल्यक्रिया गरेपछि थप अवस्थ भएका छन्। यसले उपचारमा समस्या आएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) देखि अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म गुहार्न बाध्य भए।
तर खेलमाथिको राजनीतिमा रमेकाहरुले वाइबीको कीर्तिमानी खेल जीवन कसरी सम्झिरहुन्। खेल जीवनमा आफूसँगै ‘रुम पार्टन’देखि मैदानमा समेत सँगसँगै रहेका राजुकाजी शाक्यलाई एक दिन वाइबीले फोन नै गरेर भने- ‘मेरो स्वास्थ्य अवस्था त अझ बिग्रियो, ब्लाडर र स्टोनको अप्रेसन पनि गराएँ। हुन्छ भने राखेप र एन्फामा भन्दा केही सहयोग पो आउँछ कि।’
‘खेलाडीहरुलाई राज्यले नै विचार गरिदिनुपर्छ, उनीहरु माग्दै हिँड्नु राम्रो होइन’ भन्ने ठान्ने राजुकाजीले पनि साथीको चिन्ताजनक अवस्था देखेर नमागी बस्न सकेनन्। उनैले वाइबीको स्वास्थ्य जाँचका रिपोर्टसमेत राखेर राखेप र एन्फामा सहयोगका लागि निवेदन हाले। तर, भेटमा सकारात्मक देखिने पदाधिकारीबाट कुनै सहयोग भने आएको छैन।
यो सबै बुझेका पूर्व खेलाडीहरुले वाइबीलाई शुक्रबार दुई लाख रुपैयाँ सहयोगसहित सम्मान गरे। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले वाइबीको सहयोगका लागि रकम जुटाएको थियो।
युके शाखाका अध्यक्ष सिद्धार्थबिक्रम क्षेत्रीले खेलाडीहरुका लागि यसरी सहयोग गर्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्दै सहयोग रकम हस्तान्तरण गरे। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल बक्सिङका पूर्वअध्यक्ष राजीव श्रेष्ठलगायतले कुनै समय देशका लागि योगदान गरेका खेलाडीका लागि राज्यले नै केही सहयोग गरिदिनुपर्ने विचार राखे।
‘यो एकदमै दुःखको दिन हो। यस्तो दिन नेपाली खेलाडीले देख्नु नपरोस् भन्ने हाम्रो चाहना हो। हामीले यसरी सहयोग कसैलाई गर्नु नपरोस्। वाइबी घले दाइलाई सम्मान गर्न पाउँदा एकातिर खुसी लागिरहेको छ भने अर्कोतिर उहाँको उपचारमा समस्या आएर सहयोग गर्नुपर्दा दुःख पनि लागेको छ’ सहयोगका लागि लागिपरेका सिद्धार्थबिक्रमले भने।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपकले पनि वाइबीको सम्मान र सहयोगमा राज्यले नै केही सोच्नुपर्ने बताए। ‘हामीले उहाँहरुबाटै प्रेरणा लिएर खेलकुदमा लागेका थियौँ। हामीले घले दाइको खेल हेर्न पाएनौँ तर उहाँको खेलको बारेमा धेरै सुनेका थियौँ। अहिले फुटबलमा नै लागिरहेका नयाँ खेलाडीले उहाँलाई चिन्दैनन् जस्तो लाग्छ। कुनै पनि व्यक्तिले हरेक समय काम गरिरहन सक्दैन, कुनै समय गरेको योगदानलाई भने राज्यले नदेखेको जस्तो गर्न मिल्दैन’ उनले भने।
वाइबीसँग फुटबल खेल्दाका दिन सम्झँदै राजुकाजी भन्छन्- ‘यो सहयोगका लागि धेरै धन्यबाद तर कसैले दिने यी रकमहरुका पछि खेलाडी कहिलेसम्म पो लागिरहनु? एउटा कल्याण कोष बनाएर सरकारले नै केही गरिदिन सके राम्रो हुने थियो जस्तो लाग्छ। सरकारी निकायबाट कुनै कुरा नआउँदा वाइबीले रिसाएर पनि छोड्दे तिनीहरुको आश नगरौँ पनि भनेको थियो।’
‘घले राम्रो खेलाडी हो, उसको खेलको लगाव राम्रो थियो। मान्छे राम्रो छ तर खेलको बेला अलिकति रिसाहा पनि हो, कति समय त झगडा पनि परेको थियो। १९८३ मा मलेसियामा भएको मर्डेका कपमा त झगडा पर्दा प्रहरीले घलेको टाउकोमा पेस्तोल नै पनि ताकेको थियो’ राजुकाजीले सम्झिए।
राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका फुटबलर र हाल एन्फामा उपाध्यक्ष रहेका उपेन्द्रमान सिंहले एन्फाले नीति नै बनाएर भैपरिआउँदा खेलाडीको सहयोगमा काम गर्ने तयारी गरिरहेको बताए। उनले वाइबी जस्तै समस्यामा पर्ने खेलाडीहरु अरु पनि रहेकाले सबैलाई सम्बोधन हुनेगरी एन्फा अघि बढ्ने बताए।
त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मञ्चमा भएको कार्यक्रममा लठ्ठी र सहयोगीको सहयोगमा आएका घले बिरामी शरीरका बाबजुद पनि मुस्कुराइरहेका थिए। पुराना साथीहरुसँगको भेटले खुसी हुँदै आफूलाई सम्झने पनि कोही त रहेछन् भन्ने ठानेका उनले अप्ठ्यारो मान्दै सहयोग रकम समाए। बोल्दा शब्दहरु अड्किने कारण धेरै नबोले पनि सहयोगपछिको खुसी उनको आँखामा झल्कन्थ्यो।
६१ वर्षका वाइबीले आफ्नो खेलाडी जीवनमा आरसिटी, फ्रेन्ड्स क्लब, शाही नेपाल वायुुसेवा निगमको फुटबल टिम, महेन्द्र पुलिस क्लब र बंगलादेश ढाकाको वान्डेरेरियर्स जस्ता क्लबबाट फुटबल खेले। फ्रेन्ड्स क्लबमै रहँदा दुई पटक त्रिभुवन च्यालेन्ज शिल्ड जितेका वाइबी १९८२ देखि १९९० सम्म राष्ट्रिय टिममा थिए। वाइबी १९८५ मा नेपालले दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा प्रमुख खेलाडी नै थिए।
एन्फाका पूर्वकेन्द्रिय सदस्य रहेका वाइबी एन्फा एकेडेमीका पूर्व टेक्निकल डाइरेक्टरसमेत हुन्। उनले २०५२ सालताका जावलाखेल युथ क्लबमा प्रशिक्षक भएर पनि काम गरेका थिए। खेल जीवनपछि पनि फुटबलमा नै जोडिन चाहिरहेका उनी प्यारालाइसिसले समातेपछि भने टाढिन बाध्य भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।