बागलुङ -राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा आज स्वागत तथा सम्मान गरिएको छ ।
बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित भएका हुन्।
बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा सम्मानपत्र र नगद प्रदान गर्नुभएको गरे।
बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले हालै आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका थिए। सोही जितपछि नेपाली क्रिकेट टोली जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलको यात्रा तय गर्न सफल भएको छ ।
खेल क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप केसीलाई सम्मान गरिएको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताए। सोही अवसरमा केसीलाई क्षेत्री समाज बागलुङले पनि नगद रु १० हजारसहित सम्मान गरेको थियो ।
खेलाडी केसीले आफू सधँै देशका लागि कडा मेहनत र लगनका साथ खेल्ने बताए ।उनले भने “सम्मानको संस्कृतिले खेलाडीलाई प्रेरणा र प्रोत्साहन मिल्छ, खेलाडी उत्पादन र संरक्षणमा राज्य पनि संवेदनशील बन्नुपर्छ ।”
यसअघि केसीलाई खेलप्रेमी, शुभेच्छुक र सर्वसाधारणले बागलुङ बजारमा भव्य स्वागत गरेका थिए। सरप्राइजस्वरुप एक कम्पनीले उनको निशुल्क जीवन बीमा समेत गरिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।