धनगढी- धनगढीमा भोलिदेखि सुरु प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। कैलाली जिल्ला खेलकुद विकास समितीले आज पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारी दिएको हो । प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुने छ ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा साविकका पाँच वटै विकास क्षेत्र तथा एक विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) गरी ६ वटा टीमको सहभागिता रहने प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए।
बुधबार हुने उद्घाटन खेलमा सुदूरपश्चिम र पश्चिमाञ्चल भिड्नेछन्। सहभागी ६ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ। समूहका विजेता र उपविजेताले सेमिफाईनलमा स्थान पाउनेछन्।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले २ लाख रुपैया पुरस्कार प्राप्त गर्ने उनले बताए। त्यस्तै, वुमन अफ द सिरिजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपैया पुरस्कार प्रदान गरिने छ। धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगिताको लागि सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको छ। प्रतियोगितामा झण्डै साढे ३८ लाख खर्च हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।