इंग्ल्यान्ड- गएराति एफए कपको पाचौँ चरणको खेलका क्रममा म्यानचेस्टर सिटी र विगन एथलेटिकका म्यानेजर हातपातमा उत्रिएका छन्। खेलका दौरानमा सिटीका फाबियन डेल्फले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुपरेपछि दुई म्यानेजरबीच तनाव बढेको थियो।
पहिलो हाफको थप समयमा विगनका म्याक्स पावरलाई लडाएका कारण सिटीका डेल्फले रातो कार्डको सामना गर्नुपरेको थियो। करिअरकै दोस्रो रातो कार्ड खाएका डेल्फले आगामी आइतबार आर्सनलसँग हुने लिग कपको फाइनल खेल गुमाउनेछन्।

पहिले पहेँलो कार्ड झिक्दै रेफ्री एन्थोनी टेलरले नाम लेखिरहेको भए पनि पछि डेल्फलाई रातो कार्ड नै देखाएका थिए।
सोही घटनाका कारण सिटीका म्यानेजर पेप ग्वार्डिवालाले पनि आफ्नो आक्रोशलाई नियन्त्रणमा राख्न सकेनन्। पहिलो हाफको खेल सकेर बाहिरिँदै गर्दा करिडोरमा सिटीका म्यानेजर ग्वार्डिवाला विगनका समकक्षी पौल कुकमाथि हातपातमा उत्रिए। सो क्रममा सिटीका खेलाडी तथा सुरक्षाकर्मीले ग्वार्डिवालालाई रोकेका थिए।
खेलको अन्त्यलगत्तै सिटी स्ट्राइकर सर्जियो अग्वुइरोले घरेलु दर्शकमाथि दुर्व्यवहार गरे। रंगशालामा उपस्थित सिटीका समर्थकले मैदानमा बोत्तल लगायतका वस्तुहरु प्रहार गर्दै हारमा असन्तुष्टि व्यक्त गरेका थिए।

एफए कपको अन्तिम ८ मा प्रवेशका लागि गएराति भएको विगन एथलेटिकसँगको तनावपूर्ण खेलमा लिग लिडर सिटी १–० ले पराजित भएको हो।
एफए कपको सम्भावित विजेताको रुपमा सिटीले अधिकांश समय खेललाई आफ्नो पकडमा राखे पनि गोल गर्न भने सकेन।
खेल अवधिभर विपक्षीको पोस्टतर्फ ४ मात्र सट प्रहार गरेको विगनले २ सट टार्गेटमा प्रहार गरेको थियो। जसमध्ये खेल सकिन ११ मिनेट बाँकी रहँदा विगनका विल ग्रिगले करिब २० यार्डको दुरीबाट हानेको प्रहारले भने गोल पोस्टको दिशा लिएको थियो। सोही एक गोलको मदतले लिग वान क्लब विगन एफ ए कपको क्वाटरफाइनल पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।