काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा मुम्बईका उमेश पटवाल नियुक्त भएका छन्। यहि महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि पटवाल नेपालको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) की नेपाल संयोजक भावना घिमिरेले पटवाललाई नयाँ प्रशिक्षक नियुक्त गरेको पुष्टि गरेकी छिन्। गत साता नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालको ब्याटिङ प्रशिक्षक मुम्बाइकै सुलक्षण कुलकर्णी थिए। कुलकर्णी उतैबाट मुम्बई फर्किएका थिए। अब कुलकर्णीको स्थान पटवालले लिनेछन्।
गत महिना आइसिसीले कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकका कुलकर्णी, पटुवाल र हैदरावादका अभिजित चटर्जीको नेपाली टिमले पठाएपनि कुलकर्णीलाई प्रशिक्षकमा नियुक्त गर्न सिफारिस गरेको थियो।
पटवालसँग यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गरेको अनुभव छ। सन् २०१४ को टी–२० विश्वकप र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए। त्यसपछि उनले अफगानिस्तानको घरेलु लिगमा प्रशिक्षक भएर काम गरेका थिए। पछिल्लो पटक उनले रासिद खानले कप्तानी गरेको अफगानिस्तानको घरेलु लिगको प्रशिक्षण सम्हालेका थिए।
अफगानिस्तानका सिनियर खेलाडीहरु मोहम्मद साहजाद र मोहम्मद नाबीले अफगानिस्तानको सफलतामा पटवालको योगदान रहेको बताएका थिए।
पटवाल आइपिएल टिम कोची टस्कर्ससँग पनि आवद्ध थिए। पटवाल विशेषगरी खेलाडीको आत्मविश्वास बढाउन र खेल बुझाउन सक्ने क्षमता भएको प्रशिक्षक मानिन्छन्।
अफगातिस्तानको प्रशिक्षक बन्नुअघि उनले नागपुरस्थित विदर्भ क्रिकेट एसोसिएसनको एकेडेमी, ग्लोबल क्रिकेट स्कुल र मुम्बइको पायडे क्रिकेट क्लबको प्रशिक्षण सम्हालेका थिए।
छनोट प्रतियोगिताका लागि नेपाली टिमले केही दिनमै तयारी थाल्नेछ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेर शनिबार राति स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान पारस खड्काले ३–४ दिनको ब्रेकपछि तयारी सुरु गर्ने बताएका थिए। एक साता स्वदेशमा तयारी गरेपछि नेपाली टिम जिम्बावे प्रस्थान गर्नेछ।
छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टिम घोषणा भइसकेको छ। १५ सदस्यीय नेपाली टिममा गत साता नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेका १४ खेलाडी र थप एक खेलाडी समावेश छन्। यसअघि वैकल्पिकमा रहेका युवा स्पिनर ललितनारायण राजवंशी राष्ट्रिय टिममा परेका छन्।
डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ। फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह 'बी'मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्। त्यसअघि नेपालले २ वटा 'वार्मअप' खेल खेल्नेछ। नेपालले फागुन १५ र फागुन १७ मा वार्मअप खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।