सालः २००८
स्थानः सिंहदरबार मैदान
२००७ सालको क्रान्ति सफल भएपछि पहिलो पल्ट नेपालमा लिग फुटबलको आयोजना हुँदैथियो, जानकी कप। त्यतिबेला न्युरोड टिम (एनआरटी) जनताको क्लब भनेर चिनिन्थ्यो। एक दिन एनआरटी लिग खेल्न मैदानमा उत्रिँदै थियो, एनआरटीको खेलमा रेफ्रीले झेली गरेको भन्दै मैदानबाहिर ‘चकलेट रेफ्री चाहिँदैन, झेली गर्न पाइँदैन’ भन्दै ठूलो हुटिङ भएछ।
त्यो खेल हेर्न न्युरोड वरिपरिका बासिन्दा सिंहदरबार पुगेका थिए। त्यतिबेला नेपाल पुलिसका आइजिपी थिए, नरशमशेर।
वास्तवमा त्यो लिग सुरु भएको थियो, उनकै सक्रियतामा। तर, मैदानमा खेल बिथोल्न ठूलै होहल्ला भएपछि उनी पनि के कम! एनआरटी समर्थकलाई डन्डै डन्डाले हिर्काउन लगाएर केही खेलाडीलाई कोचिदिएछन्, हिरासतमा।
नरशमशेरको यो हर्कतबाट एनआरटीका खेलाडी लगायत पदाधिकारी आक्रोशित मात्र भएनन्, आन्दोलित नै भए। नरशमशेरको उजुरी बोकेर राजा त्रिभुवनलाई भेट्न जाने निधो भएछ। र, सोही अनुसार एनआएरटीका खेलाडी समरबहादुर मल्ललगायत केही पदाधिकारी त्रिभुवनलाई भेट्न राजदरबारस्थित त्रिभुवन सदन पुगे। सुरुमा यिनीहरुलाई लागेछ– राजाको अगाडि कसरी आफ्नो भनाइ राख्ने। केही अलमल र दुविधामा त्रिभुवन सदन पुगेका यी सबै त्यतिबेला छक्क परे, जब उनीहरुसँग त्रिभुवनले साथीजस्तै व्यवहार गरे।
नरशमशेरको गुनासो बोकेर गएका सबैलाई त्रिभुवनले सुरुमै चुरोट ‘अफर’ गरेछन्, ‘पिउँ पिउँ’ भन्दै। उनी चुरोट बाँड्दै सल्काउन आफै सलाइको बट्टा बोकेर आइपुगे। सबै अलमलमा परे– पिउँ भने राजाको अगाडि कसरी पिउने? नपिउँ भने राजाको अपमान हुने। द्धविधाकै बीच सबैले चुरोट सल्काएछन्।
त्यसपछि सबैले नरशमशेरको उद्दण्डताको उजुरी गरे, राजा त्रिभुवनसँग। यो सुनेर त्रिभुवन मुसुक्क हाँसेछन्। र, भनेछन्, ‘म उसलाई भन्छु। सम्झाउँछु।’ यसपछि फुटबल काण्डमा समातिएका एनआरटीका सबै खेलाडी रिहा भए।
यो घटनाका प्रत्यक्षदर्शी समरबहादुर मल्ल अहिले पनि सम्झन्छन्, त्रिभुवन फुटबलमा निकै सोख राख्थे।
त्यतिमात्र होइन, राणाकालमा उनको छुट्टै फुटबल टोली थियो, दरबारभित्र। उनले दरबारका हट्टाकट्टा सेनालाई जम्मा पारेर, बलियो फुटबल टोली गठन गरेका थिए। १९९० सालपछि नारायणहिटी राजदरबारभित्र राजा त्रिभुवनसँग फुटबल खेलेका स्वर्गीय रविशमशेर राणाले ६ वर्षअघि मलाई (२०११ सालको नागरिक पत्रिका) दिएको अन्तर्वार्तामा भनेका थिए, ‘उहाँ (राजा त्रिभुवन) को खेल राम्रै भन्नुपर्छ। सेन्टरबाट खेल्नुहुन्थ्यो।’
कंलकी नजिकै रहेको रवि भवन भन्ने ठाउँ उनकै घरको नामबाट स्थापित भएको थियो। रविशमशेर प्रधानमन्त्री जुद्धशमशेरका छोरा हुन्।
जुद्धशमशेर प्रधानमन्त्री भएकै बेला एकपल्ट नरशमशेरको नेतृत्वमा जुद्धशमशेरका छोराहरु नीरशमशेर, मीनशमशेर, रविशमशेरहरु फुटबल खेल्न नारायणहिटी राजदरबार पुगेका थिए।
त्यो खेल हेर्न जुद्धशमशेर आफैँ उपस्थित थिए। एकपल्ट त्रिभुवनले उनीहरुको गोलपोस्टमा गोलका लागि दह्रो प्रहार गरेका रहेछन्। तर, गोलकिपरले च्याप्प बल समातेछ। राजा त्रिभुवनको प्रहार गोलकिपरले त्यसरी रोकेको जुद्धशमशेरलाई मन परेनछ। उनले माथिबाटै हप्काएछन्, ‘ए, बल किन रोकेको?’
त्रिभुवनसँग थुप्रै पल्ट दरबारमा फुटबल खेलेका स्वर्गीय नीरशमशेरको पनि अनुभव थियो, ‘उहाँ जर्सी र जुत्ता लगाएर खेल्न आउनुहुन्थ्यो।’ (नीरशमशेरसँग २०१३ मा अन्न्पूर्ण पोष्ट्को अन्तर्वार्ता)।
खासमा त्रिभुवनको फुटबलमोहकै कारण नरशमशेरले आफ्नो फुटबल टोलीको नाम राजा त्रिभुवनको नामबाट नरेश–११ राखेका थिए। यो टोलीले २००४ सालको अनाधिकृत लिग जितेको थियो।
२००८ सालमा लिगसँगै नकआउट फुटबल प्रतियोगिताको पनि आयोजना भएको थियो। नकआउट फुटबलको सिल्ड नै त्रिभुवनले उपलब्ध गराएका थिए। त्यसैले त्यो प्रतियोगिताको नाम त्रिभुवन च्यालेन्ज सिल्ड राखिएको थियो।
२००८ सालमा पहिलो पल्ट भएको त्रिभुवन च्यालेन्ज सिल्डको उपाधि जलेश्वरले जितेको थियो।
२०११ फागुन ३० गते स्विट्जरल्यान्डको ज्युरिचमा निधन हुनुपूर्व त्रिभुवन नेपाली फुटबल हेर्न प्रायः मैदानमै पुग्थे।
‘२००८ सालतिर महावीर क्लबबाट गोलकिपरका रुपमा मैदानमा थिएँ, राजा त्रिभुवन चकित पर्नुभएछ,’ महावीरका पूर्व गोलरक्षक शंकरबहादुर केसी सम्झन्छन्। २००७ सालको प्रजातान्त्रिक आन्दोलन अघिसम्म शंकर राजा त्रिभुवनको खबरियाका रुपमा सक्रिय थिए।
उनले नै त्रिभुवनबाट आन्दोलनरत सुवर्णशमशेर राणा र बिपी कोइरालालाई एकजुट भएर राणाविरोधी आन्दोलन सुरु गर्न दिएको सुझाव बिपीहरुमाझ पुर्याएका थिए।
२००१ सालतिर सिंहदरबारमै आयोजना भएको फुटबल प्रतियोगितामा एनआरटीका होराप्रसाद जोशीलाई देखेर त्रिभुवन चकित परेका थिए। ठूलो पावरको चमामा फुटबल खेलिरहेका होरा त्यतिबेला कुद्न माहिर मानिन्थे। घरिघरि खस्ने चश्माको कारण असजिलो महसुस गरेका होरालाई खेल सकिएपछि त्रिभुवनले सल्लाह दिएछन्, ‘चश्माको दुईतिरै डोरीले बाँधेर खेल।’ यो घटना होराले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्।
२००८ सालमा आफ्ना खेलाडी छुटाउन डेलिगेसन गएका एनआरटीका पूर्व खेलाडी समरबहादुर मल्ल त्रिभुवनलाई फुटबलका सोखिन राजा मान्छन्। २००९ सालमा नेपाली खेलकुद विकासका लागि जावलाखेलस्थित नरडेरामा आयोजना भएको पहिलो बृहत छलफल कार्यक्रमा पनि त्रिभुवन सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।