समय, जब रिसाउँछ
तब प्रेमको झ्यालढोका थुनेर
आफू, एक्लै भित्र बस्छ
त्यो पल
ढोका बाहिरै पर्छन् मेरा निर्दोष यादहरू
ऊ रिसाएको पल
घामलाई पनि ज्वरो आउँछ
र कार्यालयबाट छिट्टै बिदा मागेर घर फर्कन्छ
उदासीका प्रहरीहरू
बाटोभरि कर्कस ध्वनीमा बुट बजाउँछन्
हृदयको आकाशमा पोतिन्छ कालो बादल
कुन्नी कहाँ ?
भित्र कतै चट्याङ पर्छ
भागेर कहाँ पुग्छ होला?
जीवनको सुन्दर वसन्त
र आँखाको आकाशमा कसले पठाउँछ होला?
वर्षातको मौसम
चर्केको झ्यालबाट यसो नियाल्छु बाहिर
हिजोसम्म हाँस्ने फूलहरूले
कसरी गुमाए आजै आफ्नो बोली?
आजै कसरी भाग्यो घरबाट त्यो रमाइलो?
किन यति नौलो छ यो आँगन?
कता गए उडेर खोपाको भङ्गेरा जोडी?
कसले भत्कायो?
मनको दलिनबाट गौंथलीको गुँढ
ऊ मुस्कुराएको बिहान
दिनभर उज्यालै उज्यालो हुन्थ्यो
उसले खबर सोधेको पल
मनमा आनन्दै आनन्द हुन्थ्यो
ऊ हाँस्दा
भोक पनि अघाउँथ्यो
निन्द्रा पनि डराउँथ्यो
चोट पनि दुख्दैनथ्यो
अहो
समयको एउटै मुस्कानको हाँगामा
कसरी सबथोक अल्झिँदो रहेछ
हो, यतिबेला
समय रिसाएको छ विनाकारण
र यतिनै बेला
फकाउने कुनै त्यस्तो कला छैन मसँग।
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।