ब्याटबाट रन निस्किरहेको थियो। आफ्नो स्फुर्तीलाई कायम राख्न मेहनत पनि गरिरहेका थिए। नयाँ खेलाडीहरुको आगमनले टोलीमा उनको स्थानलाई कुनै प्रभाव परेको थिएन। तर सन् २००७ ताका ‘मास्टर ब्लास्टर’ सचिन तेन्दुलकर आफ्नो करिअरको निकै कठिन मोडमा उभिएका थिए। उनका टिममेट तथा प्रशंसकहरु पनि उत्तिकै निराश थिए। लगातार उत्कृष्ट प्रदर्शन गरिरहे पनि आखिर सन्तुष्टि नमिल्नुको एक मात्र कारण थियो ‘नर्भस नाइन्टिज' सिकार!
सन् १९९४ देखि नै सचिनको खेल जीवनमा सुरु भएको सिकारको यो शृंखला वर्ष २००७ मा उच्च बिन्दुमा पुगेको थियो। टेस्ट र एकदिवसीय गरी कुल २७ पटक नर्भस नाइन्टिजको सिकार भएका सचिन त्यही एक वर्षभरि मात्रै ७ पटक ९० भन्दा माथिको स्कोर गरेर पेभेलियन फर्किए तर शतक बनाउनबाट चुके।
शतकको नजिक पुगेपछि उनले मानसिक दबाब महसुस गरेको आरोप खेपिरहे पनि ढाडस, हौसला तथा टिप्स दिने पनि उत्तिकै शुभचिन्तक, साथी तथा विज्ञहरु थिए। त्यही भिडबाट एउटा यस्तो नामको चर्चा भयो जसले सचिनलाई शतकको नजिक पुगेपछि रक्षात्मकको सट्टा आक्रामक खेल्दै चौका र छक्का हान्न सुझाव दिए।
उनी थिए, सचिनका एक मात्र छोरा अर्जुन तेन्दुलकर।

बुवालाई सुझाव दिने बेला अर्जुन मात्र ८ वर्षका थिए। तर सचिनले त्यही उपायलाई पछ्याउँदै आफ्नो खेल शैलीमा सुधार गरे। जसका कारण आफ्नै खेल जीवनमा विश्वकप जित्ने उनको सपना अन्ततः सन् २०११ मा पूरा भयो।
सचिन तेन्दुलकर ४४ वर्षका भए। अर्जुन भने १८ वर्षमा चल्दैछन्। अहिले यस्तो मोडमा गएर समय उभिएको छ कि सचिन रिटायर्ड लाइफ बिताइरहेका छन् भने अर्जुन आफ्नो करिअर थाल्दै। त्यो पनि क्रिकेटमै।
संसारको महान् खेलाडीको रुपमा लिइने सचिनको नामका अघि अर्जुनको अस्तित्व कस्तो रहला भनेर धेरैले लख काट्न थालिसकेका छन्। आफ्ना बुवाले हिँडेको जस्तो लामो बाटो अर्जुनको अगाडि नदेख्नेहरु पनि नभएका होइनन्। यही बिचमा कतिपय भने भनिरहेछन् कि सचिनले आफ्नो छोरालाई ‘टिप्सहरुको प्याकेज’ नै दिनुपर्छ जसरी अर्जुनले आजभन्दा १० वर्षअघि सचिनलाई दिएका थिए।
आफ्ना बुवा, आमा तथा अग्रजहरुले बोकिआएको संस्कार, परम्परा तथा पेसालाई धेरै छोराछोरी वा नयाँ पुस्ताले धानिरहेको अवस्था पनि नभएको होइन। कतिपय यसमा अत्यधिक सफल भएका छन् भने कतिपय अझै पनि पुर्खाको नाम भजाएर बाँच्न बाध्य छन्।

अर्जुनका अघि धेरैले यस्तै प्रसंग र प्रश्नहरु आजकाल प्रत्यक्ष/अप्रत्यक्ष रुपमा राख्ने गर्छन्। खासमा अर्जुन आफैले भने बुवाको चुलीमा पुगेर विश्राम लिएको खेल जीवन र आफ्नो भर्खरै बामे सर्दै गरेको यात्रालाई कुन कसीमा राखेर हेर्ने गरेका छन् त?
सचिन र अर्जुनबीच समानता/असमानता
यी बाबुछोराको सानैदेखि क्रिकेटप्रतिको सौखलाई समानताका रुपमा लिन सकिन्छ। कुनै समय सचिन ‘बल ब्वाई’को भूमिकामा बाउन्ड्रीबाहिर देखिन्थे। अर्जुनले पनि त्यो मामलामा बुवालाई पछ्याएका छन्। अर्जुनले करिब ८/९ वर्षकै उमेरमा मैदानको सीमारेखा बाहिर बसेर बललाई मैदानभित्र फाल्ने गरेको प्रत्यक्ष प्रसारणकै क्रममा देखिएको थियो।
सचिनले १६ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भए। तर १८ वर्ष भइसक्दा पनि अर्जुनले राष्ट्रिय टोलीमा ठाउँ बनाउन सकेका छैनन्।
सचिन विशेषगरी आफ्नो दाहिने हातको प्रयोग गर्थे ब्याटिङ र बलिङको क्रममा तर अर्जुन यो मामिलामा ठिक उल्टो दिशामा छन्। अर्जुन लेफ्ट ह्यान्डेड ब्याट्सम्यान र बलर दुवै हुन्।

सचिनले पार्ट टाइम स्पिन बलरका रुपमा आफूलाई प्रस्तुत गर्दा अर्जुन भने तीव्र गतिको बलरको रुपमा आफूलाई स्थापित गराउन चाहन्छन्। त्यसमाथि उनलाई प्रोफेसनल ब्याट्स म्यानभन्दा पनि गतिवान् बलरको रुपमा आफ्नो बाटो फराकिलो बनाइरहेका छन्।
होचो कदका खेलाडी सचिनलाई उचाइमा भने अर्जुनले पछि पारेका छन्।
बुवाको मार्गदर्शन
टेस्ट तथा एकदिवसीय दुवै फर्म्याटमा विश्वकै सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् सचिन तेन्दुलकर। ३४ हजार ३ सय ५७ अन्तर्राष्ट्रिय रन बनाएका सचिन यस्तो देशमा छन् जहाँ अर्जुन जस्तै नयाँ पुस्ताका लागि क्रिकेटलाई धर्मको रुपमा हेर्ने गरिन्छ।
सचिनका कदमहरुको पछिपछि हिँड्नुलाई ‘हिस्टेरिया’ सम्झनेहरुको लागि अर्जुनले उनीभन्दा फरक पाटो यानेकि बलीङ रोज्नुलाई बुद्धिमानी कदम मान्न सकिन्छ। जसमा उनको दखल छ र विश्वास पनि। साथमा मेहनत उस्तै गरिरहेका छन्।

आफ्ना बुवा-आमाभन्दा केही अग्लो तथा पातलो कद भएका १८ वर्षीय युवा क्रिकेटर अर्जुनलाई संसारभर प्रसिद्ध एक नाम र पहिचानलाई लिएर कत्तिको तनाव महसुस हुन्छ भनेर सोध्दा उनी भन्छन्,‘म त्यो दबाबलाई कहिल्यै आफ्नो जीवनसँग जोडेर हेर्दिनँ। म यत्ति मात्रै सोच्छु कि बलिङ गर्ने क्रममा सबै बलहरु लाइन र लेन्थमा फाल्न सकूँ र ब्याटिङ गर्दा पनि कसरी बल सेलेक्सन गर्ने अनि सहि सट हान्ने।’
जुनियर तेन्दुलकरले बुवाले जस्तै गरी आफूले बलर बन्ने निर्णय गर्दा खासै बुद्धिमता नअपनाइएको खुलाए। ‘म अझै अग्लो र बलियो हुन चाहन्छु,' अर्जुनले भने,‘मलाई बच्चादेखि नै तीव्र गतिको बलिङ मन पर्थ्यो। त्यसकारण मैले सोचेँ कि म पनि तीव्र गतिको बलर बन्न सक्छु। किनकि भारतमा त्यस्ता खेलाडीको संख्या न्युन छ।’
एक देब्रेहाते बलर र ब्याट्स म्यानको रुपमा अर्जुनले आफूलाई निखार्दै लाँदा सचिनको उत्कृष्ट मानिने ‘कभर ड्राइभ सट’सँग भन्दा पनि उनलाई मिचेल जोन्सन र मिचेल स्टार्कको छायाँको रुपमा हेर्न सकिन्छ। त्यस्तै बन्न उनले प्रयास गरी पनि रहेका छन्।
बाल्यकालको खेलौना क्रिकेट
२/३ वर्षकै उमेरदेखि ब्याट, बल तथा क्रिकेटका अन्य सामग्री खेलाउन उनलाई लत बसेको हो। तर ८ वर्षको उमेरसम्म ती सबै खेलौना मात्र भए। धिरुभाइ अम्बानी अन्तर्राष्ट्रिय स्कुलमा पढ्न सुरु गरेपछि त्यहाँको क्रिकेटिङ वातावरणले उनलाई मोहित बनायो र लागे क्रिकेट खेल्न।

उनले पहिलो पटक पुनेमा १३ वर्षमुनिको क्रिकेट प्रतियोगिामा सहभागिता जनाए। सन् २०११ म ह्यारिस सिल्ड ट्रफीमा खेल्ने मौका पाए पनि उनी पहिलो खेलमा ‘डक आउट’ हुन पुगे।
त्यसपछि उनले कर्नाला स्पोर्टस एकेडमी, मुम्बईमा प्रशिक्षण लिन थाले। सन् २०१२ मा उनले मुम्बई क्रिकेट एसोसिएसनले आयोजना गरेको १४ वर्षमुनिको समर भ्याकेसन टुर्नामेन्टमा शतक प्रहार गरे। १४ चौका प्रहार गरेका उनले १ सय २४ रनको पारी खेलेका थिए।
सन् २०१४ को सेप्टेम्बरमा भने उनले अम्बानी स्कुलको १६ वर्षमुनिको टोलीबाट खेल्दै मात्र ४२ बलमा १ सय ८८ रनको विस्फोटक पारी खेले। उक्त प्रदर्शनले बुवा सचिनसँग जोडिएर गरिएका धेरैको प्रश्नको जवाफ दियो।

उनी लड्स क्रिकेट ग्राउन्डमा रहेको इनडोर स्कुलको सदस्य थिए। जसले उनलाई अन्तर्राष्ट्रिय रुपमा एक्सपोजरको काम गर्यो। यसबीच भारत तथा अन्य देशका चर्चित क्रिकेटरहरुसँग नेट प्राक्टिस तथा भेटघाट गर्दै टिप्सहरु लिन थाले। यो समयका विश्व क्रिकेटका हस्तीहरु रवि शास्त्री, वसिम अक्रम, महेन्द्रसिंह धोनी, युवराज सिंह, जाहिर खान, एलिस्टर कुक, ब्रेन स्टोक्स लगायतसँग क्रिकेटका बारेमा धेरै जानकारी हासिल गरे।
ग्लोबल टि-ट्वान्टी शृंलामा क्रिकेट क्लब अफ इन्डिया ११ बाट आफ्नो चाहनाअनुरुप उनले स्टार्क र जोन्सन दुवैसँग खेल्ने मौका पाए।

विश्व प्रसिद्ध अस्ट्रेलियन क्रिकेटर सर डोनाल्ड ब्राडम्यानको नामबाट खोलिएको ग्राउन्डमा गएर पनि आफ्नो प्रतिभा देखाउन पाए। न्यु साउथ वेल्सस्थित सो मैदानमा उनले ४ ओभरमा ४ विकेट तथा २७ बलमा ४८ रन बनाउँदै आफ्नो जिनमा क्रिकेटको नशा भरिएको आएको प्रमाणित गरिदिए।
लगातार प्रशिक्षण तथा प्रतियोगिताहरुमा व्यस्त रहन थालेका अर्जुनका लागि भारतीय टोलीमा पुग्ने ढोका भने अझै खुल्न सकेको छैन। यो समयमा त्यही ढोका उघार्न सचिनले छोराका लागि यथाशक्य प्रयास गरिरहेका छन्। पछिल्लो समय निरन्तर अभ्यास सेसनमा छोरालाई साथ तथा सल्लाह दिनुका साथै अन्तर्राष्ट्रिय खेल र खेलाडीको समेत नजिक पुर्याउन पुल बनिरहेका छन् सचिन।
'क्रिकेट मेरो अन्तिम सपना'
‘बच्चा हुँदा म फुटबल, रनिङ, स्विमिङ, तेक्वान्दो खेल्थेँ,' अर्जुनले खुलासा गरे, ‘तर जब क्रिकेट अगाडि आयो तब यी सबै खेल मेरो जीवनको दोस्रो बेन्चमा गएर बसे।’
अभ्यास तथा अन्य निर्णय लिँदा सचिनको प्रत्यक्ष दबाब आउँछ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँले मलाई धेरै सहयोग गर्नुभएको छ। तर कहिल्यै पनि दबाबमा सामेल गराउनुभएन।’
यति हुँदाहुँदै पनि एउटा प्रमुख प्रश्न भने उनको जीवनमा फेरि सोधिन सक्नेछ– विश्व क्रिकेटको इतिहासमा १ सय पटक शतक बनाएर कीर्तिमान बनाएका आफ्नै बुवाको अगाडि अर्जुनले क्रिकेटमै आफ्नो करिअर बन्ने आशा राखेका छन् त?
उनी मुस्कुराउँदै भन्छन्, ‘मैले कडा मेहनत गरिरहेको छु। क्रिकेट नै मेरो अन्तिम सपना हो।’

कुनै बेला आफूले प्रयोग गर्ने क्रिकेट सामग्री खेलौनाका रुपमा छोरालाई दिएका सचिन अर्जुनप्रति ढुक्क छन्। अहिले छोरो आफै ती खेल सामग्रीलाई जीवन सञ्चालनको हतियार बनाउँछु भनेर अगाडि बढिरहेका छन्। 'आफ्नो प्रसिद्धिसँग जोडेर छोरोको भविष्यको बाटो छोटो नहोस् भन्न कम्तीमा सोच्नुपर्ने बेला आएको छ,' उनले भने।
यदि त्यसो हुन सकेमा ब्याटबाट बुवा र बलबाट छोरोको नाम एकैसाथ लिन सक्ने स्थिति नआउला भन्न सकिन्न।एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।