रामपुर- आहार र बासस्थान व्यवस्थापन नहुँदा गिद्धको संख्या कम हुन थालेको छ। प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या कम हुन पुगेको हो।
कालीगण्डकी नदीका वारिपारिका किनारमा धेरैको संख्यामा भेटिने गिद्ध अहिले देख्न पनि मुस्किल परेको छ। नदी किनारमा हिजोआज मरेका जीव जनावर जथाभावी फ्याँक्न रोक लगाउनु, अर्कोतर्फ गिद्ध बस्ने सिमलका रूखको संरक्षण नहुँदा गिद्ध लोप हुन पुगेको हो।
सिमलका रूख विकास निर्माणका नाममा पछिल्लो समय धमाधम मासिन थालेपछि गिद्धको बासस्थान नै खलबलिन पुगेको रामपुर, पाल्पाका स्थानीय समाजसेवी बुद्धिप्रकाश रेग्मीले बताए। ‘कालीगण्डकीका विभिन्न घाटमा प्रशस्तै गिद्ध देखिन्थ्यो, तर अहिले भने एक–दुई वटा पनि भेटृाउन मुस्किल छ’, उनले भने।
एक दशकअगाडिसम्म कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाट लगायतका दर्जनौँ घाटमा प्रशस्त मात्रामा गिद्ध भेटिन्थे। नदी किनारमा मरेका जीवजन्तु, गाईवस्तु फ्याँक्ने गर्नाले पनि गिद्धको ठूलै बथान देखिन्थ्यो।
हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर नदी किनारामा जथाभावी फ्याँक्न रोक लगाएपछि गिद्धको संख्या पनि दिनानुदिन घट्दो अवस्थामा रहेको चापाकोट नगरपालिकाका स्थानीयवासी शोभाकान्त पाठक बताउँछन्।
नेपाल सरकारले गिद्ध संरक्षणका लागि अभियान ल्याए पनि संरक्षण हुन नसक्दा लोप हुँदै गएका हुन्। पछिल्लो समय यस कालीगण्डकी क्षेत्रमा मात्र नभई देशमै गिद्धको संख्या घट्दो छ। गिद्ध संरक्षणका लागि स्थानीय निकायले विशेष कदम चाल्नुपर्ने पाठकको सुझाव छ।
विश्वमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातीका गिद्ध पाइए पनि त्यसमध्ये आहारको कमी र सिमलका रूखहरुको विनाशले धेरै प्रजातिका गिद्धको बासस्थान संकटमा परेको छ। नेपालमा सानो, खैरो, डङगुर, सुन, सेतो, राजा, हिमाली, हाडफोर र लामो ठुडे प्रजातिका गिद्ध पाइने गर्दछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।