काठमाडौं- एमाले नेतृत्वको सरकारमा सहयात्री बनेको माओवादी केन्द्रले प्रदेश १ मा आफ्नो भागमा परेका मन्त्रालयमा आलोपालो गर्ने भएको छ।
पार्टीभित्र आकांक्षी बढी भएकाले ५ वर्षे सरकारमा सबैलाई बराबरी अवसर दिन यस्तो रणनीति अपनाइएको प्रदेशसभाका एक सदस्यले जानकारी दिए।
'पहिलो पटक मन्त्री हुनेहरू २ वर्ष रहनेछन्', उनले भने, 'त्यसपछि उनीहरूले राजीनामा दिने र नयाँले सम्हाल्ने कुरा भएको छ।'
समय तलमाथि हुन सक्ने पनि उनले बताए। 'मन्त्रीमा समय पुगेन भने संसदीय दलको नेता, प्रमुख सचेतक लगायतका पदमा पनि हेरफेर हुन्छ', उनले भने, '१६ जना त छौं, सबैलाई भाग पुर्याउन सकिहालिन्छ नि!' प्रदेश १ मा एक स्वतन्त्रसहित माओवादीका १६ सांसद छन्।
उपसभामुख भने परिवर्तन नगरिने उनले बताए। केही हप्ताअघि एमाले र माओवादीबीच प्रदेश १ मा एमालेले मुख्यमन्त्री र सभामुख पाउने सहमति भएको थियो।
एमालेसँग पार्टी एकता भएमा के गर्नुहुन्छ भन्ने नेपाल लाइभको प्रश्नमा उनले 'आफ्नोतर्फबाट अहिले सहभागी भएका मन्त्रीहरूमा मात्र हेरफेर हुन्छ। मन्त्री हेरफेरको अन्तिम मोडालिटीमा छलफल भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।