कैलाली– प्रहरीले एनसेलका टावरमाथि जारी शृंखलाबद्ध आक्रमण रोक्न विशेष निगरानी थालेको छ।
नेपाल कम्युनिष्ट पार्टी(विप्लव) समुहले एनसेल मोबाईलको टावरमा क्षति पुर्याउन थालेपछि जिल्लामा रहेका एनसेलका टावरमा प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
कैलाली प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार सम्बन्धीत प्रहरी कार्यालयको मातहातमा रहेका एनसेल टावरमा क्षति हुन नदिन टावरको सुरक्षा गर्न, संकास्पद व्यक्तीहरुको सूचना संकलन गर्न लगायतका निर्देशन प्रहरी कार्यालयले दिईसकेको जनाएको छ।
जिल्लामा रहेका एनसेलका टावरहरुको संख्या संकलन गरी प्रहरीले छड्के रुपमा टावरमा आफनो निगरानी बढाउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी घिमिरेले बताए।
त्यस्तै एनसेलको टावरमा क्षति पुर्याउने विप्लव समूहका कार्यकर्ताहरुको पनि प्रहरीले तत्थ्यांक संकलन गरीरहेको उनले बताए। एसपी घिमिरेले जिल्लामा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुको दैनिकीमा निगरानी बढाइएको पनि जानकारी दिए।
एनसेलले राज्यलाई राजश्व नतिरेको र सत्तामा रहेका मन्त्रीहरुले नै एनसेलको संरक्षण गरेको भन्दै विप्लव समूहले देशभरका विभिन्न जिल्लामा रहेका एनसेल टावरहरुमा क्षति पुर्याउन थालेको छ।
विप्लव समूहले ७ नम्बर प्रदेशअन्तर्गत कैलालीको टीकापुर, बझाङ र डडेल्धुरामा रहेका तीन वटा टावरमा आगजनी तथा सर्किट बम विष्फोट गराएर क्षति पुर्याइसकेको छ।
एनसेलमाथिको आक्रमण बढ्ने
बिहीबार धनगढीमा नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नेपालमा सर्वाधिक ग्राहक रहेको दुरसञ्चार कम्पनी एनसेलमाथि अझै कारबाही गर्ने चेतावनी दिए।
सो क्रममा उनले फागुन १ गते मुलुकको विभिन्न स्थानमा रहेका एनसेल टावरमा भएको आगजनी तथा विष्फोटका घटनाहरुको जिम्मावारीसमेत लिएका छन्।
उनले आफ्नो पार्टीले स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामाको पनि माग गरेको बताए।
पार्टीका पोलिटब्यूरो सदस्य पुनले वर्तमान सरकार र संसदीय व्यवस्थाले गर्दा मुलुक जर्जर अवस्थामा पुगेकोले वैज्ञानिक समाजवाद निर्माणको लागि जनप्रतिनिधिहरुले सहयोग गर्नु पर्ने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।