दसैंको दिन झापा जिल्लाको धुलाबारीबाट मुलघर शान्तिनगर जाने गर्थ्यौं। त्यो बेला सवारीसाधनको व्यवस्था थिएन। हामी हिँड्दै १७ किलोमिटर दुरीमा रहेको पुर्ख्यौली थलोमा पुग्थ्यौं। बाटोको अवस्था पनि राम्रो थिएन। त्यो दुरी पार गर्दा धेरै स्थानमा विश्राम लिन्थ्यौं। थाकेपछि विश्राम लिने, गीत गाउँदै रमाइलो गर्ने गर्थ्यौं। फेरि बिस्तारै दुरी घटाउन हिँड्थ्यौं।
करिब पाँच घन्टा हिँडेपछि मुलघरमा पुगिन्थ्यो। हिँडाइको थकान भए पनि दसैंमा छुट्टै उमंग र हर्ष मनमा हुन्थ्यो। थकाइलाई पर्वले टाढा पुर्याइदिन्थ्यो।
गढीगाउँ भन्ने स्थानबाट अलिकति माथि पुगेपछि सन्तपुर पुगिन्छ। कुहिरोमा छोपिएको बस्ती, ठूलो फाँट भएको मनमोहक स्थान। शान्तिनगर खोलाको कलकल आवाज निरन्तर सुन्दा मन आनन्दित बन्थ्यो।
वृद्ध हजुरबा/हजुरआमालाई देखेपछि दसैंले थप रङ भर्थ्यो।
हाम्रो परिवारको संख्या ठूलो थियो/छ। १३ भाइ छोरा र २ बहिनी छोरीको जन्मदिनुभएको थियो हजुरबा/हजुरआमाले। ठूलो परिवारका सबै जम्मा हुँदा मेरो टीकाको पालो १५१ औं स्थानमा थियो।
टीकाको पर्खाइमा एक प्रकारको अत्यास भए पनि भिडको मज्जा छुट्टै थियो। त्यसै भिडमा सँगै खानु र रमाउनुको आनन्द बेग्लै। हजुरआमाहरु बुवाबाट प्राप्त हुने पाँच पैसा दक्षिणाको महत्वलाई अहिले तुलना गर्नै सकिन्न। त्यो पैसालाई कुन बेला खर्च गरौं भन्ने हुटहुटी जाग्थ्यो। मारवाडी समुदायमा प्रचलित कैयौं चकलेट खान हतार हुन्थ्यो। नजिकै रहेको शान्ति स्कुलमा लगाइएको पिङमा घन्टौं मच्चिएको हुन्थेँ।
दसैं आएपछि बाल्यकालमा सम्भवत: म सबैभन्दा बढी आनन्दित थिएँ कि झैं अहिले पनि लाग्छ। बाल्यकालीन मनोविज्ञान दसैंमा बजार जाने, नयाँ कपडा लगाउने, टीका ग्रहण गरी आशीर्वादसँगै दक्षिणा प्राप्त गर्नु हो।
बाल्यकालमा मैले भोगेको समय र हालको परिवेशमा अनेक परिवर्तन आएको छ। ठूलो परिवार रहेको हामी भण्डारी खलकमा मैले जस्तै अनुभव सँगाल्न छोराछोरीले पाउने अवस्था छैन। परिवार विकेन्द्रित भएको अवस्था छ। हजुरबुवा/हजुरआमाको निधन भइसकेको छ। मेरै बुवाआमाले पनि धर्ती छोडिसक्नुभयो। तीन जना काका बुवा जीवित हुनुहुन्छ। फुपूहरु हुनुहुन्छ। परिवार धेरै ठाउँमा फैलिएको छ। शान्तिनगर, धुलाबारी, चन्द्रगढी, काठमाडौं, अमेरिका, युरोपसम्म हामी फैलिएका छौं। सबै एकत्रित हुने अवस्था पनि रहँदैन। जति सम्भव हुन्छौं सबैभन्दा ज्येष्ठ अभिभावक कहाँ भेला हुन्छौं।
दसैं तिहार, छठ, नेपाल सम्वत्, ल्होसार मनाउँदै गर्दा अचेल म आफ्नो कोणबाट होइन, छोरा र छोरीको मनोवैज्ञानिक कोणबाट आनन्दित हुने प्रयत्न गर्दछु। किनकि म अहिले बाल्यकालको स्मृतिमा पुग्न मात्रै सक्छु। मेरो छोराछोरी वा उनीहरुको पुस्ता स्वयं नै बाल्यकालमा छन्। र, अनुभूति गरिरहेका छन्।
हाम्रो उमेरको पुस्ताले भन्दा उनीहरुले बढी आनन्दित महसुस गरिरहेका हुन्छन्। उनीहरुको उमंग पनि बढी हुन्छ। मेरो १४ वर्षकी छोरी र ७ वर्षे छोराको पुस्ता पर्वहरुमा रमाउँदै गर्दा मेरो पुस्ताले रमाउनुमा निसन्देह फरक पर्छ। उनीहरुमा कुनै पनि प्रकारको तनाव हुँदैन। सांसारिक झन्झट र दायित्वबाट मुक्त हुन्छन्।
हाल मेरा छोराछोरीले जुन रुपमा दसैं अनि मामाघरलाई सम्झन्छन्। मेरो बाल्यकालमा पनि दसैं अनि मामाघर त्यही रुपमा आउने थियो। दसैंमा मुख्यतया टीकाको दिनको प्रतीक्षा बढी गर्थें।
बाल्यकालमा जस्तै उमंग उमेर बढेपछि हुँदैन। यो स्वाभाविक हो। आज मेरो छोराछोरीले जुन रुपमा कुनै उत्तरदायित्व लिनुपरेको छैन। म त्यही अवस्थामा बाल्यकालमा थिएँ। राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक जिम्मेवारी बहन गरिरहको छु। भोलिको पुस्ताले पनि यी जिम्मेवारी बहन गर्नुपर्छ। उमेरजन्य कुराहरुले पर्वको उमंगमा अन्तर ल्याउँछ। उमेरको सापेक्षतामा मात्रै हेर्नु हुँदैन। जीवनको समग्रतामा पनि हेर्नुपर्छ।
बाल्यकालमा जुन रुपमा पर्वहरुमा रमाउँथेँ, त्यही रुपमा अहिले उमंग नहोला। हरसम्भव खुसी बन्ने माहोल म बनाउँछु। विवाह गरेपछि पर्वहरुमा रमाउने क्रममा वृद्धि भएको छ। विवाहको १५ वर्षे अवधिमा मैले पर्वहरुलाई थप उत्सवमय बनाएको छु। छोराछोरीको खुसीको लागि पनि म रमाउँछु।
डेढ दशकअघि म होली खेल्दै गर्दा सामान्य रुपमा मनाउथेँ। हाल म होलीलाई विशेष तरिकाले मनाउँछु। किनकि छोरी होलीमा रमाउँदा म उनीको खुसीलाई कम हुन दिन्न। उनको शैलीमा म जान सकिनँ भने उनीहरुको खुसीमा कमि आउँछ। अर्को तथ्य, मेरो शैलीमा उनीहरु आउन उमेरजन्य कारणले असम्भव छ। तर,उनीहरुको शैलीमा म समाहित हुन त सक्छु नि!
आत्मीयता जगाउनका लागि मेरो बाल्यकालको दसैंको अनुभूति उनीसँग बाँड्छु। उनीहरुमा खुसीको अनुभूति हुँदा पर्वको सार्थकता थप बढ्छ। पारिवारिक खुसी थपिएपछि म पनि बाल्यकालकै स्मृतिमा पुग्छु। बाल्यकालकै सरहमा रमाउन नसके पनि उमंगमा कमी नहुने वातावरण सिर्जना गरेको हुन्छु।
(लिलु डुम्रेसँग गरिएको वार्तामा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।