काठमाडौं- पार्टी एकतालाई निष्कर्षमा पुर्याउन भन्दै बुधबार बसेको वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भएको छ।
ललितपुरको मानभवनस्थित एक घरमा दुवै दलका शीर्ष नेताहरुको बैठक करिब ४ घन्टा बसे पनि निष्कर्षमा पुग्न सकेन। यद्यपि एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको र बिहीबार सबै निर्णय सार्वजनिक गर्ने दाबी दुवै दलका नेताहरुले गरेका छन।
एकता संयोजन समितिको बैठक अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई पटक एक्लाएक्लै भेटवार्ता गरेका थिए।
दुई शीर्ष नेताले आ-आफ्ना पार्टीको माथिल्लो कमिटीका सदस्यसँग बसेर एकता प्रक्रियामा जुटाएको सहमतिबारे पार्टी नेताहरुलाई ब्रिफिङ गराएका थिए।
एमाले नेता वामदेव गौतमले सबै विषयमा सहमति जुटे पनि कार्यदल गठनमा समय अपुग भएकाले निर्णय गर्न नसकिएको बताए।
‘एकतामा करिब ९५ प्रतिशत काम सकिएको छ। ५ प्रतिशत काम बाँकी छ। भोलि (बिहीबार) थप छलफल गरेर निर्णय सार्वजनिक गर्छौं', गौतमले भने।
एकता संयोजन समितिको बैठक अगाडि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकतामा निकै गहन रुपमा छलफल गरेका थिए। दुवै दलका नेताले एकीकृत पार्टीको नेतृत्व र सरकार गठनदेखि पार्टी महाधिवेशन गर्नेसम्मका विषयमा सहमति जुटाएका थिए।
माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि सैद्धान्तिक पक्ष पेचिलो बनेको भन्दै त्यसका लागि कार्यदल बनाउन थप छलफल आवश्यक देखिएको बताए। उनले नयाँ सरकार गठन प्रक्रिया बिहीबारदेखि सुरु गर्ने भएकाले त्यस अगाडि वाम गठबन्धनले निर्णय गर्ने जानकारी दिए।
नेता श्रेष्ठले दुई कार्यदल गठनका लागि बिहीबार छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।