काठमाडौं- नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ।
पुरुष/महिला दुवैमा समान ५.५ खेलाडी छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन्।
नेपाली नम्बर एक पुरुष खेलाडी स्यान्टु श्रेष्ठ भने दुर्घटनापछि उपचाररत रहेकाले छनोटमा सहभागी हुन सकेनन्।
पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, एपीएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनील महर्जन क्रमशः शीर्ष पाँच स्थानमा रहँदै छनोट भए।
महिलामा शीर्ष ५ मा रहँदै छानिनेमा क्रमशः प्रहरीकी नविता श्रेष्ठ, नेपाल आर्मीकी रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन तथा एपीएफकी सिका सुवाल छन्।
स्यान्टु असोज ८ गते नयाँ बानेश्वरबाट मैतीदेवी जाँदै गर्दा दुर्घटनामा परेका थिए। बा १ ज ८८३१ नम्बरको माइक्रो बसले स्यान्टु सवार बा ९२ प ५०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जहाँ उनको दाहिने गोडामा चोट लाग्नपुग्यो।
अब ‘फिट’ भएको खण्डमा उनले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनीलसँग पुनः छनोट खेल्न अवसर पाउने प्रथम उपाध्यक्ष बज्राचार्यले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।