काठमाडौं– नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा ज्ञानेन्द्रले आफूहरूले ड्राफ्ट गरेर दिएको वक्तव्य पढेको खुलासा गरेका छन्।
वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको नाममा स्थापित फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।
०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको भन्दै उनले त्यो मस्यौदा लेख्ने काम अधिकारीले गरेको बताए।
‘काँग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं। दरबारको पनि छुट्टै थियो। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजधाले सबै हामीले लेखेर दिएको पढे। वास्तवमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको गज थियो।’
०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गरेका थिए।
नेता नेतालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा स्मरण गरे।
०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पु¥याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गरे।
‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो’, भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले शनिबार राजधानीमा गरेको ‘भरतमोहन अधिकारी व्यक्ति एक व्यक्तित्व अनेक’ कार्यक्रममा नेता नेपालले भने, ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनु भएन । सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो।’
कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नि सविता अधिकारी लगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । वक्ताहरुले अधिकारी सरल, तल्लो स्तरका ग्रामीण जनताप्रति माया भाव राख्ने स्वभावका र समन्वयकारी व्यक्तित्वका धनी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।