काठमाडौं- सिंगापुरमा त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज पहिलो खेलमा जिम्बावेविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका ५ः१५ मा सुरु हुनेछ।
नेपाल, जिम्बावे र सिंगापुरबीच हुने सिरिज अन्तर्गत नेपालको पहिलो खेल नै जिम्बावेविरुद्ध हुन लागेको हो। जुन आईसीसी टी २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा जिम्बाबे र नेपाल पहिलो पटक खेल्न लागेका हुन्।
सिंगापुरमा त्रिकोणात्मक टी–२० सिरिज असोज १६ गतेसम्म हुँदैछ। नेपालले असोजमै १८ गतेदेखि २ गतेसम्म ओमनमा हुने पाँच देश सम्मिलित टी–२० सिरिज पनि खेल्दैछ। त्यसमा ओमन र नेपालसहित हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्स सहभागी हुँदै छन्।
ओमनको प्रतियोगिता खेल्ने घोषणा पहिले नै भएको भए पनि त्यसअघि सिंगापुरमा सिरिज हुने तय भएको हो। सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो।
यस्तै ओमनले पनि प्रतियोगिताको तयारी नेपालले टी–२० विश्वकपको एसियाली छनोट खेल्नु अघि नै गरेको थियो। नेपाल ग्लोबल छनोटमा पुग्न नसकेपछि खेल्ने या नखेल्ने एकीन भएको थिएन। तर आईसीसीले नेपाललाई सहभागी हुने अनुमति दिएसँगै नेपालले महत्वपूर्ण सिरिज खेल्न पाउने भएको हो।
नेपालले त्यसका लागि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। घोषणा गरेको टिममा ईशान पाण्डे र कुशल मल्ल दुई नयाँ अनुहार छन्। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी टिममा परेका छैनन्। ज्ञानेन्द्रले घरायसी कामका कारण आफू नखेल्ने बताएका थिए। यसैले उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिइएको छ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट नेपालले १५ सदस्सीय टोलीको घोषणा गरेको हो। आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन्।
को को छन् टोलीमा ?
पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहित कुमार पौडेल।
सिंगापुर सिरिजको खेल तालिका (डबल राउन्ड रोबिन)
जिम्बाबेसँग असोज १०
सिंगापुरसँग असोज ११
जिम्बाबेसँग असोज १४
सिंगापुरसँग असोज १५
ओमान सिरिजको तालिका
हङकङसँग असोज १९
नेदरल्यान्ड्ससँग असोज २०
आयरल्यान्डसँग असोज २२
ओमानसँग असोज २३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।