काठमाडौं- कमजोर रोचडालेलाई हराउन म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीको सहारा लिनुपरेको छ।
काराबाओ कपअन्तर्गत गएराति भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोल गरेपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा म्यान्चेस्टरले सबै ५ प्रहारलाई जाली चुमाउँदा रोचडाले भने २ प्रहारमा चुकेको थियो।

यसअघि ६८ मिनेटमा मसोन ग्रिनवुडको गोलमा लिएको म्यानचेस्टरको अग्रतालाई लुक म्याथसनले तोडेका थिए। १६ वर्षीय म्याथसनले घरेलु मैदानमा गरेको गोलले खेललाई पेनाल्टी सुटआउटसम्म धकेलेको थियो।
विपक्षीतर्फ ३१ प्रहार गरेको म्यानचेस्टरको ८ प्रहार मात्रै गोलपोष्टको दिशामा थिए। मात्र ३५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्न सकेको रोचडालेले ५ प्रहार म्यानचेस्टरतर्फ गरेको थियो। जसमध्ये ३ प्रहार गोलपोष्टको दिशामा थिए।
प्रतियोगिताको तेस्रो चरणअन्तर्गत नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले फराकिलो जित निकालेको छ। इएफएल कपसमेत भनिने प्रतियोगितामा चेल्सीले ग्रिम्स्बी टाउनमाथि ७-१ को जित दर्ता गरेको हो।

चेल्सीका लागि मिची बात्सुयीले २ तथा बार्क्ली, पेड्रो, जुमा, जेम्स र हड्सन ओडोईले समान १/१ गोल गरे। ग्रिम्स्बीका लागि एकमात्र गोल ग्रिनले गरेका थिए।
यसबाहेक अन्य खेलहरुमा एस्टन भिल्ला, बर्टन, लिभरपुल, अक्सफोर्ड युनाइटेड, सन्डरल्यान्ड र वुल्भरह्याम्पटन विजयी भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।