काठमाडौं- ला-लिगाअन्तर्गत भिल्लारियलसँगको खेलका क्रममा लियोनल मेस्सी घाइते भएका छन्।
नाउ क्याम्पमा भिल्लरियललाई २-१ ले पराजित गरेको खेलमा मेस्सी घाइते भएका हुन्।
पिँडौलाको चोटबाट राहत मिलेपछि मैदान पर्किएका मेस्सीलाई बुधबार बिहान भएको खेलमा थाइमा समस्या आएको हो। खेलको सुरुवातमै मैदान छिरेका उनी घाइते भएपछि दोस्रो हाफको सुरुवातमै बाहिरिनु परेको थियो।
बार्साका म्यानेजर अर्नेस्टो भाल्भर्डले मेस्सीको चोट सामान्य रहेको बताए। 'जब मेस्सीलाई केही समस्या आउँछ, मैदानमा मात्रै होइन बेन्चमा समेत सबै रोकिन्छ,' उनले भने, 'सावधानीको रुपमा हामीले यसमा रिस्क लिनु हुँदैन भनेर मेस्सीलाई पूरा नखेलाएका हौं। चोट कस्तो हो भन्ने बारेमा भोलि मात्रै विस्तृतमा जाँच हुनेछ।'
यसअघि मेस्सीको कर्नरमा एन्टोइन ग्रिजम्यानले हेड गर्दै गोलको खाता खोलेका थिए। छैटौं मिनेटमै पहिलो गोल गरेको बार्साका लागि त्यसको ९ मिनेटपछि आर्थुरले दोस्रो गोल थपे।

पहिलो हाफको अन्तिम मिनेटमा सान्टी काजोर्लाले गोल गर्दै भिल्लारियललाई खेलमा फर्किने संकेत दिएका थिए। तर, त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेल बार्साले २-१ ले आफ्नो पक्षमा पारेको हो।
जितसँगै बार्सा अंकतालिकाको ४ स्थान माथि उक्लिँदै चौथो स्थानमा आइपुगेको छ। ग्रानडा पहिलो स्थानमा रहँदा एथ्लेटिको बिलबाओ र रियल मड्रिड बार्साभन्दा माथि छन्।
यसअघि भएका अन्य खेलहरुमा रियल बेटिसले लेभान्टेलाइ ३-१ ले पाखा लगाउँदा रियल भालाडोलिड र ग्रानडाले १-१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।