काठमाडौं- नेपाललाई तीनै खेलमा हराउँदै स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ। मंगलबार भएको तेस्रो खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३-० ले जितेको हो।
यसअघि नेपाल पहिलो खेलमा ६१ रनले साथै दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।
मंगलबार तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो। जसमा भारतका इमरान मल्लिकले ५२ रनको अर्धशतकीय पारी खेले। नेपालका तबरेज अन्सारीले तीन विकेट लिए।
एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै एक सय २७ रन मा बनाउन सक्यो। नेपालका छवि धोबीले ४१ तथा तबरेज अन्सारीले १६ रन बनाए।
प्रतियोगितामा भारतका इमरान मल्लिक म्यान अफ दी सिरिज भए। यस्तै बेस्ट ब्याट्सम्यान भारतीय कप्तान यादयुन्दर सिंह खेरा, बेस्ट बलर नेपालका तबरेज अन्सारी, बेस्ट विकेटकिपर भारतका तबरेज र बेस्ट फिल्डर नेपालका मनोज थापा घोषित भए।

विजेतालाई नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष उपेन्द्र भट्टराईले पुरस्कार प्रदान गरे। स्ट्यान्डिङ क्रिकेट अपाङ्गता भएकाहरुको क्रिकेट प्रतियोगिता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।