काठमाडौं- यु १८ साफ च्याम्पियनसिपमा नेपालको यात्रा समाप्त भएको छ। माल्दिभ्स र भुटानले गोलरहित बराबरी खेलेसँगै नेपाल प्रतियोगिताको इतिहासमै पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो। यसअघिका दुई संस्करण जितेको नेपाल यसपटक घरेलु मैदानमा नै कमजोर सावित भयो।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेल्दै १ अंक जोडेको थियो। दोस्रो खेलमा भने नेपाल भुटानसँग ३-० ले पराजित भएको थियो। भुटानसँगको हार नै नेपालका लागि महँगो परेको हो।
नेपालको समूह चरणका खेलपछि सेमिफाइनलका लागि भुटानले माल्दिभ्सलाई ४ भन्दा बढी गोल अन्तरले हराउनु पर्ने झिनो सम्भावना मात्रै बाँकी थियो। एक जित र एक बराबरीसँगै भुटान समूह विजेता बनेको छ। दुई खेल बराबरी खेलेको माल्दिभ्स समूह उपविजेता बन्यो।
समूह चरणबाट नै बाहिरिएको नेपालका प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रतियोगिता सुरु हुनअघि उपाधि जित्ने दाबी गरेका थिए। भारत र नेपाल दुई बलियो टोली रहेको बताउने श्रेष्ठको भनाइ विपरीत नेपाल कमजोर मानिने भुटानसँग पराजित भएको हो।
भुटानसँगको हारपछि प्रशिक्षक श्रेष्ठले दक्षिण एसियाली फुटबलमा अब कुनै टिम पनि कमजोर नरहेको प्रतिक्रिया दिएका थिए।
साथै भुटानसँगको हारमा नेपाली खेलाडीले आफूले सिकाएअनुसार नखेलेको र बर्षाका कारण पनि खेलमा अप्ठ्यारो परेको उनको भनाइ थियो।
%20(1).jpg)
२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको नेपालले यसपटक घरेलु मैदानमा दर्शकको साथ पाए पनि सोचेअनुसार खेल्न सकेन। २०१७ को यु १८ साफमा समूह चरणमा भुटानसँग १-० ले पराजित भए पनि नेपालले उपाधि जित्न सकेको थियो। यसपटक भने भुटानसँगको हार नै समूह चरणबाट बाहिरिन पर्याप्त भयो।
त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु १८ का रुपमा प्रतियोगिता गर्न थालेको हो। यसैले अहिलेसम्म भएका दुवै प्रतियोगिताको उपाधि जितेको सबैभन्दा सफल टिम दरिएको नेपाल तेस्रो प्रतियोगितामा भने समूह चरणमा नै कमजोर भयो।
नेपालले प्रतियोगिताको तयारीको लागि खेलाडीहरुलाई झण्डै ४५ दिनको विशेष प्रशिक्षणमा सामेल गराएको थियो। प्रतियोगिता सुरु हुनअघि पछिल्लो पटक पोखरामा आठ दिनको साफ तयारी विशेष प्रशिक्षण पनि राखिएको थियो। जसबाट नै नेपाली टिमका मुख्य प्रशिक्षक श्रेष्ठले २३ सदस्यीय टोलीको छनोट गरेका थिए।
(1).jpg)
पहिले तयारी राम्रो भएको बताउने प्रशिक्षक श्रेष्ठले भुटानसँगको हारपछि भने नेपाली टोलीलाई यत्तिको तयारीले नपुग्ने र आउँदा प्रतियोगिताका लागि थप मेहनत गर्नुपर्ने बताएका थिए।
नेपाल बाहिरिएसँगै समूह ‘ए’ बाट माल्दिभ्स र भुटान सेमिफाइनलमा पुगेका छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत मध्ये बंगलादेश सेमिफाइनलमा पुगिसकेको छ। अब बुधबार श्रीलंका र भारतबीच हुने खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।