काठमाडौं- यु १८ साफ च्याम्पियनसिपमा भारतसँग बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा पुगेको छ। सोमबार स्वयम्भू हल्चोक मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
बराबरीसँगै समूह ‘बी’ मा बंगलादेशले २ खेलमा ४ अंक जोड्दै सेमिफाइनल पुगेको हो। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो।
१ अंक जोडेको भारतले समूह चरणकै दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्दैछ। जसबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ। भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ। श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ।
समूह ‘ए’ मा पहिलो खेल नेपाल र माल्दिभ्सबीच १–१ को बराबरीमा सकिएको थियो। दोस्रो खेलमा भुटानले नेपाललाई ३–० ले हराउँदै सेमिफाइनल पुगिसकेको छ।
मंगलबार भुटान र माल्दिभ्सबीच हुने समूह चरणको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। भुटानले माल्दिभ्सलाई ४ भन्दा बढी गोल अन्तरले हराएमा मात्रै नेपाल सेमिफाइनल पुग्नेछ।
यसअघिका दुई संस्करणको विजेता टिम नेपाल यसपटक घरेलु मैदानमा नै कमजोर देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।