काठमाडौं- संघीय संरचनापछि नेपालको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलले आज सपथ ग्रहण गर्दैछन्। देशका ७ वटै प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्।
प्रदेश नम्बर ३ को मुख्यमन्त्री नियुक्त पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आजै बिहान सपथ तथा गोपनीयताको सपथ गराउँदैछिन्। पौडेल नेकपा एमाले संसदीय दलका नेता पनि हुन्।
प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीका अनुसार बिहान ९ बजे सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ। सपथपछि मुख्यमन्त्री पौडेलले हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ११ बजे पदभार ग्रहण गर्नेछन्।
पौडेल २०४९ देखि २०५४ सालसम्म हेटौंडा नगरपालिकाको मेयर थिए। उनीसँग नेपाल नगरपालिका संघमा १५ वर्ष अध्यक्ष भएर काम गरेको अनुभव पनि छ। संविधान जारी भएपछि गठित स्थानीय तह पुनर्संरचना आयोगमा उनी सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।