लाहोर- पाकिस्तानी नागरिकको अधिकारका लागि सङ्घर्षरत आस्मा जाहाङ्गिरको आइतबार निधन भएको छ। उनी ६६ वर्षका थिइन्।
पाकिस्तानी कानूनविद् तथा संयुक्त राष्ट्रसङ्घका पूर्व विशेष समाधिक्षक जाहाङ्गिरको हृदयघातका कारण निधन भएको उनकी बहिनी हिना जिलानीले बताइन्।
‘दुर्भाग्यवस हामीले उहाँलाई गुमाएका छौँ।,’ वरिष्ठ अधिकारकर्मी तथा उहाँकी बहिनी जिलानीले भनिन्।
जाहाङ्गिरको मृत्युपछि पाकिस्तान तथा विदेशमा रहेका उनका प्रशंसकले सामाजिक सञ्जालमार्फत् दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
‘जाहाङ्गिर एक बहादुर व्यक्ति हुनुहुन्थ्यो। उहाँको अनुपस्थितिमा विश्व नै अपूर्ण हुनेछ।,’ पाकिस्तानी प्रभावशाली अधिवक्ता सलमान अक्राम राजाले सामाजिक सञ्जालमा लेखेका छन्।
‘म र मजस्तै धेरैले उहाँका विचारसँग सहमत थिएनन्। तर उहाँ असाधारण व्यक्ति हुनुहुन्थ्यो र राज्यले यस्ता बहादूर तथा तेजवान् व्यक्तिलाई कहिल्यै पाउने छैन,’ पाकिस्तानी पत्रकार वाजाहत खानले ट्वीट गरेका छन्।
जाहाङ्गिर फ्रान्सको सबैभन्दा ठूलो नागरिक पुरस्कारबाट सन् २०१४ मा पुरस्कृत भएकी थिइन्। उनी स्वीडेनमा नोवेल पुरस्कारको वैकल्पिक मानिने प्रसिद्ध पुरस्कारबाट पनि सम्मानित भएकी छन्।
जाहाङ्गिरले पाकिस्तानी मानव अधिकारका क्षेत्रमा पाएको सम्मान नगन्य व्यक्तिले मात्र पाउने सम्मानमा पर्छ।
उनले आफ्नो जीवनकालमा नागरिकको अधिकारका लागि सङ्घर्ष गरेकै कारण ज्यान मार्ने धम्की, विभिन्न शारिरीक आक्रमण तथा जेल सजाय भोग्नुपरेको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।