मस्को- मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेको सारातोभ एयरलाइन्सको विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ।
विमानमा रहेका ६ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रुको मृत्यु भएको रसियाली अधिकारीले जनाएका छन्।
विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि उडेको थियो।
एन्टोनोभ एएन–१४८ विमान दिनको २ः२७ मा मस्कोबाट उडेको तर मात्र ४ मिनेटपछि नै दुर्घटनामा परेको एयरलाइन्सका अधिकारीहरुले जनाएका छन्। विमान राजधानी मस्कोबाट करिब ८० किलोमिटर दक्षिण पूर्वमा पर्ने अर्गुनोभो गाउँमा दुर्घटना भएको छ।

हिउँले ढाकेको दुर्घटनास्थलमा यात्रुका शब क्षतविक्षत अवस्थामा रहेको र निकै परपरसम्म विमानका टुक्राहरु फेला पारिएको छ।
रसियाली यातायात मन्त्रालयले विमान दुर्घटनाको कारणबारे अहिले नै यकिन भन्न सकिने अवस्था नरहेको तर खराब मौसम वा प्राविधिक कमजोरी नै प्रमुख कारण रहेको आशंका गरेको छ।
रसियाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ। रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थलतर्फ पुगेका छन्।
उता रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तप्रति समवेदना प्रकट गरेका छन्। उनले घटनाको छानबिन गर्नसमेत निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।