काठमाडौं- नेमारले खेल सकिन ३ मिनेट बाँकी रहँदा गरेको एकमात्र गोलले पेरिस सेन्ट जर्मेनले लियोनलाई हराएको छ।
फ्रेन्च लिग-१ मा गएराति भएको खेलमा ब्राजेली फरवार्ड नेमारले पिएसजीका लागि निर्णायक गोल गरेका थिए।
लिगको पहिलो ४ खेलमा मैदानमा उपस्थित नभएका नेमारले लगातार दुई खेलमा निर्णायक गोल गर्दै पिएसजीलाई जिताएका हुन्। यसअघि स्टार्सवर्गविरुद्धको खेलमा पनि उनले इन्जुरी समयमा गोल गरेका थिए।
च्याम्पियन्स लिगअन्तर्गत भने बुधबार रियल मड्रिडलाई ३-० ले हराउँदा उनी टोलीमा थिएनन्।
एकतर्फी रहेको खेलमा पिएसजीले २१ सट प्रहार गरेकोमा ७ सट गोलपोष्ट केन्द्रित थिए। पिएसजीले ६३ प्रतिशत समय बल आफ्नो पक्षमा पारे पनि लियोनले १२ सट प्रहार गरेको थियो। यद्यपि कुनै सटले पनि गोलको दिशा भने लिन सकेनन्।
गएराति नै भएका अन्य खेलमा रेनिस र लिलीले बराबरी खेल्दा एंगर्सले सेन्ट इटिनलाई ४-१ ले हरायो।
जितसँगै पिएसजी १५ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।