काठमाडौं- करिम बेन्जिमाले गरेको एकमात्र गोलमा रियल मड्रिड विजयी भएको छ।
स्पेनिस ला-लिगाअन्तर्गत आज बिहान भएको खेलमा रियलले सेभिल्लालाई हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो।
च्याम्पियन्स लिगअन्तर्गत बुधबार भएको पहिलो खेलमै पेरिस सेन्ट जर्मेनसँग ३-० ले हारेको रियललाई यस जितले केही राहत दिलाएको छ।
रियलका लागि इडेन हजार्डले खेलको पहिलो हाफमा क्लोज रेन्जबाट हानेको प्रहारलाई सेभिल्लाका गोलकिपर टोमस भाक्लिकले विफल पारिदिए। बेन्जिमाले ६४ मिनेटमा डि-बक्स भित्रैबाट गरेको हेड बलले भने गोलको दिशा लिएको थियो। जारी सिजनमा उनको यो पाचौं गोल हो।
खेलको अन्त्यतिर जाभियर हर्नान्डेजले गरेको गोललाई रेफ्रीले अफसाइड घोषणा गरेपछि सेभिल्ला बराबरीबाट चुकेको थियो।
सेभिल्लाले ५५ प्रतिशत समय बल आफ्नो पकडमा राखेको थियो। खेल अवधिभर ९ सट प्रहार गरेको सेभिल्लाको एक प्रहार पनि गोलपोष्टको दिशामा थिएन। उता ७ सटमात्रै प्रहार गरेको रियलका ४ सट भने गोलपोष्ट केन्द्रित थिए।
लिगमा खेलेका ५ खेलमा ३ मा जित र २ मा बराबरी खेलेको रियल दोस्रो स्थानमा उक्लिएको छ। समान ११ अंक नै बटुलेको एथलेटिक बिलबाओ शीर्ष स्थानमा छ। सेभिल्ला पाचौं स्थानमा छ।
गएराति नै भएको खेलमा एल्भसलाई २-० ले हराउँदै एथलेटिको शीर्ष स्थानमा उक्लिएको हो।
अन्य खेलहरुमा मलोर्काविरुद्ध गेटाफे र इस्पानियोलविरुद्ध रियल सोसिएडाड विजयी हुँदा भ्यालेन्सिया र लिगानेसले १-१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।