काठमाडौं- नेपाल यु १८ साफ च्याम्पियनसिपमा भुटानसँग पराजित भएसँगै नेपाली टिमका प्रशिक्षक चेत नारायण श्रेष्ठले आफूले सिकाए अनुसार खेलाडीहरुले खेल्न नसकेको बताएका छन्।
यसअघि घरेलु मैदानमा लगातार तेस्रो उपाधि जित्ने दाबी गरेका उनले भुटानसँगको हारपछि खेलाडीहरुलाई दोष दिएका हुन्। ‘हामीले केही मौका सदुपयोग गर्न पनि सकेनौँ, मैले सिकाएअनुसार खेलाडीहरुले खेल्न सकेनन्’ उनले भने।
एपीएफको हलचोक मैदानमा आइतबार नेपालले भुटानसँग ३–० गोलको लजास्पद हार व्यहोरेको थियो । सन् २०१७ मा भुटानमा नै भएको प्रतियोगितामा समूह चरणमा भुटानसँग १–० ले हारेको नेपालले उपाधि जितेर फर्किएको थियो। तर, यसपटक भुटानसँगको हारले सेमिफाइनल सम्भावना पनि कठिन देखिएको छ।
आइतबार खेल सुरु हुने बेलामा नै ठूलो पानी परेको थियो। प्रशिक्षक श्रेष्ठले पानीका कारणसमेत आफ्ना खेलाडीले राम्रो खेल्न नसकेको बताए।
उही मैदानमा भुटानले ३ गोल हान्दा सम्झनलायक एउटै प्रहार गर्न नसकेको नेपालले पानी परेर खेल्न नसकेको बहाना बनाउनु हाँस्यपद सुनिन्छ। तर प्रशिक्षक भन्छन्– ‘सुरुमा पाएको राम्रो मौकाहरु गुमाउदा गुम्यो। पानीले गर्दा पनि खेलाडीले खेल्न सकेनन्।’
खेलमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले भुटानसँग दोस्रो हाफमा २ गोल खाएको थियो। हारसँगै समूह ए मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना गणितीय मा त्र छ। पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेर १ अंक जोडेको नेपालले सेमिफाइनलमा लागि मंगलबार हुने भुटान र माल्दिभ्सबीचको नतिजा कुर्नुपर्ने हुन्छ। भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढीको अन्तरमा हराएमा नेपाल सेमिफाइनल पुग्नेछ। बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ।
प्रशिक्षक श्रेष्ठले नेपालको सेमिफाइनल सम्भावना बाँकी रहेको आश आफूले नगरेको बताएका छन्। ‘अंकगणितको रुपमा मैले आश गरेको छैन। भुटानले माल्दिभ्सलाई जित्न पनि सक्छ, त्यसैले सम्भावना अझै बाँकी छ। तर, यो सम्भावनामा मलाई आश छैन’ प्रशिक्षक श्रेष्ठले भने।
आफूले सिकाएअनुसार खेलाडीले नखेल्नु र पानी पर्नु हारको कारण भएको बताएका प्रशिक्षक श्रेष्ठले भुटानले राम्रो खेलेको तारिफ पनि गर्न भ्याए।
भुटानलाई कमजोर मान्न नहुने भन्दै उनी भन्छन्– ‘भुटान अहिलेसम्म कमजोर थियो, अब दक्षिण एसियामा कमजोर टिम कुनै छैन। भुटानले राम्रो गरेको हो। शारीरिक रुपमा भुटान बलियो रहेछ।’
अन्त्यमा प्रशिक्षक श्रेष्ठ नेपाली फुटबलको स्तर खस्किएको भन्नेसम्म पुगे। ‘हाम्रो स्तर राम्रो छैन। हामिले जति दिन सक्छौ त्यति त दिएको हो। अब अझ राम्रो गर्नुपर्छ। प्रशिक्षण अझ राम्रो हुनुपर्छ’ उनले भने।
भुटानका प्रशिक्षक युगेन दोर्जीले आफ्ना खेलाडीले शतप्रतिशत मेहनत गरेर खेलेको बताएका छन्। ‘खेलाडीहरुले पूरा मेहनत गरेर खेले। नेपालमाथि ३–० को जित सोचेको पनि थिएनौँ’ उनले भने।
नेपाली टिमले प्रतियोगिताअघि झण्डै ४५ दिन क्लोज क्याम्पमा बसेर गरेको अभ्यास भुटानसँगको हारसँगै कमजोर देखिएको हो। माल्दिभ्सविरुद्ध बराबरी खेल्दा नेपालले बनाएको जस्तो केही राम्रा अवसरहरु भुटानसँगको खेदमा देख्न पाइएन। घरेलु दर्शकका अगाडि नेपाली खेलाडीको फितलो प्रदर्शनले फुटबल सुधारतर्फ संकेत भने गरेको छ।
यसअघि लगातार दुई प्रतियोगिता जितेर तेस्रो उपाधिको खोजीमा रहेको नेपालको घरेलु मैदानमा ह्याट्रिक गर्ने सोच भुटानले कमजोर पारिदिएको छ। यसअघि नेपाली टिमका मुख्य प्रशिक्षक श्रेष्ठ पनि आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताइहँदा नेपाली अट्याकको लाइनअप मिलाइनमा नै कमजोर देखिए। अन्य टिमको तुलनामा नेपाल र भारत बलियो रहेको बताउने प्रशिक्षक श्रेष्ठले सेमिफाइनल पुगेपछि थप कठिन हुने बताउने गरेको भए पनि नेपालले समूह चरणमा लज्जास्पद हार भोगेको हो।
२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर नेपालले उपाधि जितेको थियो।
त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु १८ का रुपमा प्रतियोगिता गर्न थालेको हो। यसैले अहिलेसम्म भएका दुवै प्रतियोगिताको उपाधि जितेको नेपाल सबैभन्दा सफल टिम हो।
प्रतियोगिताको समूह बी मा बंगलादेश, श्रीलंका र भारत रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। दुवै सेमिफाइनल १० गते हुने तय छ। फाइनल खेल १२ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।