काठमाडौं- यु १८ साफ च्याम्पियनसिपमा आइतबार नेपालले भुटानविरुद्ध खेल्दैछ। समूह चरणको पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेलेको नेपालले भुटानलाई हराउन सके सेमिफाइनल पुग्नेछ।
स्वयम्भू हल्चोक मैदानमा दिउँसो ३ बजे भुटानसँगको खेल हुनेछ। समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो। प्रतियोगिता जित्ने दाबीका साथ प्रस्तुत भइरहेको नेपालले पहिलो खेलमा धेरै अवसर गोलमा परिणत गर्न चुकेको थियो।
यसअघि लगातार दुई प्रतियोगिता जितेर तेस्रो उपाधिको खोजीमा रहेको नेपाल घरेलु मैदानमा ह्याट्रिक गर्ने सोचमा छ। नेपाली टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ पनि आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताउँछन्। अन्य टिमको तुलनामा नेपाल र भारत बलियो रहेको बताउने प्रशिक्षक श्रेष्ठले सेमिफाइनल पुगेपछि थप कठिन हुने बताएका छन्।
२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको नेपालले यसपटक घरेलु मैदानमा दर्शकको साथसमेत पाउने छ।
त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु १८ का रुपमा प्रतियोगिता गर्न थालेको हो। यसैले अहिलेसम्म भएका दुवै प्रतियोगिताको उपाधि जितेको नेपाल सबैभन्दा सफल टिम हो।
साविक विजेता नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र भुटान रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। दुवै सेमिफाइनल १० गते हुने तय छ। फाइनल खेल १२ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।