काठमाडौं- बार्सिलोनालाई २-० ले पराजित गर्दै ग्रानडा स्पेनिस ला-लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
अप्रत्यासित हार बेहोर्ने क्रममा बार्सिलोनाले खेल सुरु भएको दोस्रो मिनेटमै गोल खाएको थियो। ग्रानडाका लागि रामोन अजिजले गरेको हेड गोलमा परिणत भएको थियो।

डिबक्स एरियाभित्र अर्तुरो भिडालको हातमा बलले लागेपछि दोस्रो हाफको ६६औं मिनेटमा ग्रानाडाले पेनाल्टी पायो। भिडियो एसिसेन्ट रेफ्री (भिएर)को सहायतामा रेफ्रीले ग्रानडाको पक्षमा पेनाल्टी दिएपछि अल्भारो भाडिल्लोले त्यसलाई सदुपयोग गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए।
बार्सिलोनाका म्यानेजर अर्नेस्टो भालभर्डेले दोस्रो हाफको सुरुवातमै एकैपटक स्ट्राइकर लियोनल मेस्सी र अन्सु फातीलाई मैदान प्रवेश गराए पनि बार्सिलोनाले गोल गर्न सकेन।
खेल अवधिभर ७४ प्रतिशत समय बल आफ्नो पक्षमा पारे पनि बार्सिलोनाले ग्रानडाको पोस्टमा १ मात्रै प्रहार गर्न सकेको थियो। उता ग्रानडाले भने ९ प्रहार गरेकोमा ४ प्रहार गोलपोष्टको दिशामा थिए।
निकै नोकझोकपूर्ण खेलमा दुवै पक्षबाट गरी कूल ३४ फउल भएका थिए।

हारसँगै बार्सिलोना अंकतालिकाको सातौं स्थानमा पुगेको छ। ला-लिगाको पछिल्लो २५ वर्षको इतिहासमा बार्सिलोनाले निकै खराब सुरुवात गरेको हो। डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको १० अंकसहित शीर्ष स्थानमा रहेको ग्रानडाभन्दा ३ अंक कम छ।
शनिबार राति नै भएको अर्को खेलमा सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेपछि एट्लेटिको मड्रिडको शीर्ष स्थान पुग्ने अवसर टरेको थियो। १० अंक नै जोडेको एट्लेटिको ग्रानडा र सेभिल्लापछि तेस्रो स्थानमा छ।
यस्तै रियल भालाडोलिडलाई भिल्लारियलले २-० ले पाखा लगाउँदा लेभान्टे र ऐवरले भने गोलरहित बराबरी खेले।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।