राजविराज– सिरहाको धनगढीमाई नगरपालिकाबाट अपहरणमा परेका एक बालकलाई प्रहरीले ४ घन्टाभित्र सकुशल मुक्त गरेको छ।
धनगढीमाई नगरपालिका–११ निवासी १४ वर्षीय बालक आशिष राय कुर्मी शनिबार ३ बजे अपहरणमा परेका थिए। घरनजिकै रहेको पसलमा बसिरहेका बेला २ वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनलाई अपहरण गरेको थियो।
अपहरणको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बालकलाई ४ घन्टापछि साँझ ७ बजे धनुषाको जनकपुर उपमहानगरपालिका–२४ बाट शकुसल मुक्त गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बताए।
धनुषा प्रहरीको समन्वयमा बालक अपहरणमा संलग्न जनकपुर उपमहानगरपालिका–२४ का ४० वर्षीय मनोज महतो लौनियाँ र स९प ६३२० नम्बरको मोटरसाइकल नियन्त्रण गरिएको उनले जानकारी दिए।
अपहरणमुक्त भएका बालकलाई परिवारको जिम्मा लगाई संलग्न अन्य ३ जनाको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालकका पिता सन्तोष राय र मनोज महतोबीचमा लेनदेनको विषयलाई लिएर अपहरण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी चन्दले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।