काठमाडौं- यू-१८ साफ च्याम्पियनसिपको सुरुवात नेपालले बराबरी खेल्दै गरेको छ। शुक्रबार अपरान्ह स्वयम्भू हल्चोक मैदानमा सकिएको खेलमा माल्दिभ्ससँग नेपालले १-१ गोलको बराबरी खेलेको हो।
पहिलो हाफमा पेनाल्टीमा गोल खाएको नेपालले दोस्रो हाफमा भने बराबरी गोल गरेको थियो। नेपालका लागि एकमात्र गोल मनिस डाँगीले गरे।
प्रतियोगितामा नेपाल र माल्दिभ्ससहित भुटान, बंगलादेश, भारत र श्रीलंका पनि सहभागी छन्।
लगातार दुई प्रतियोगिता जितेर तेस्रो उपाधि जित्दै घरेलु मैदानमा ह्याट्रिक गर्ने सोचमा नेपाल रहेको छ।
२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको नेपालले पहिलो खेलमै घरेलु मैदानमा दर्शकको उल्लेख्य साथ पाएको थियो।
त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यू-१९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यू-१९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यू-१८ का रुपमा गर्न थालेको हो। यसैले अहिलेसम्म भएका दुवै प्रतियोगिताको उपाधि जितेको सबैभन्दा सफल टिम हो नेपाल।
असोज ३ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपमा पाकिस्तान सहभागी नहुने भएपछि अन्तिम समयमा खेल तालिका हेरफेर भएको थियो। समूह ‘ए’ मा रहेको साविक विजेता नेपालले अब असोज ५ मा भुटानसँग खेल्नेछ।
समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।