काठमाडौँ – स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बनेका छन्।
आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभई पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा एमाले नेतृत्वको निर्देशनबमोजिम सभामुखमा उम्मेदवारी दिन राजी भएका हुन्।
प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा उनी निर्वाचित भएका हुन्।
एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफू मुख्यमन्त्रीकै आकांक्षी भए पनि पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएकाले त्यसलाई शिरोधार्य गरेको बताए।
श्रेष्ठ प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौँ क्षेत्र २ प्रदेशसभा (क) बाट निर्वाचित भएका हुन्। सो प्रदेश क्षेत्रमा काठमाडौँ महानगरपालिका – ९ र ३२ पर्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको हो।
कूल ११० सदस्य रहेको यस प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । श्रेष्ठ एमालेको हाल वैकल्पिक पोलिटब्यूरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख छन्। सभामुख भएपछि पार्टीको जिम्मेवारी के गर्ने भन्ने निर्णय भइसकेको छैन।
विसं २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिनुभएका श्रेष्ठ हाल नरेफाँटमा बसोबास गर्छन्। उनले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।
विसं २०३४ मा भूमिगत नेकपा मालेबाट श्रेष्ठ कम्युनिष्ट राजनीतिमा लागेका हुन्।
काठमाडौँ जिल्ला विकास समितिका पूर्वसभापति श्रेष्ठ २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रतिस्पर्धी थिए। त्यसबेला दुई पार्टीको अघोषित तालमेलका कारण प्रचण्डको विपक्षमा प्रचारमा नगई पराजय स्विकारेका थिए।
आफ्नो क्षेत्रमा श्रेष्ठले एकीकृत वाग्मती सभ्यताको विकास, ग्रिन बेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभताजस्ता मुद्दा उठाएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।