ललितपुर- औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन्।
कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताए। पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले समेत अहिले शुरु गरेका छन्।
कैदीबन्दी विद्यालय र कलेज तह दुवैमा अध्ययनरत छन्। 'बाहिर हुँदा विभिन्न काम र पेशाले गर्दा पढ्न नपाएकाहरु पनि यहाँ फुर्सद हुँदा पढ्न थालेका छन्,' जेलर केसीले भने। कारागार प्रशासनले पनि कैदीबन्दीलाई फुर्सदमा बस्नभन्दा सीपमूलक काम र अध्ययनमा लाग्न प्रोत्साहन गर्दै आएको छ।
कारागारमा रहेका १९ कैदीबन्दी अहिले एसइई परीक्षाको तयारी गर्दैछन्। प्रवेशिका परीक्षामा बर्सेनि झन्डै यही हाराहारीमा विद्यार्थी संलग्न हुने गरेका छन्। कारागारमा अध्ययन गर्न चाहनेहरुका लागि विद्यालय छ। विभिन्न तहमा अध्ययन गर्नका लागि कारागार प्रशासनले बन्दोबस्त मिलाएको छ। यहाँ रहेका कैदीबन्दी पनि शिक्षक रहेको जेलर केसी बताउँछन्।
'पढाउन सक्ने र पढ्न चाहने दुवै यहीँ भएकाले हामीले वातावरण मात्रै मिलाउने हो,' उनले भने।
कारागारमा झन्डे ८ सय कैदीबन्दी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।