राजविराज– नेपाल–भारत खुल्ला सिमानाको फाइदा उठाउँदै सप्तरीमा चोरी तस्करी बढेको छ। तस्करीमा संलग्न समूहले भन्सार र प्रहरीको आँखा छलेर निर्वाध रुपमा समान ओसारपसार गरिरहेको छ।
यसैक्रममा शुक्रबार भन्सार छलीको सामानसहित छिन्नमस्ता गाउँपालिका ५ का ३० वर्षीय प्रमानन्द महत, २५ वर्षिय राजकुमार खत्वे र वडा नं. १ का ४२ वर्षीय किशोर झा पक्राउ परेका छन्।
दुई वटा अटो रिक्सा प्रयोग गरी करिब १० लाख रुपैयाँ बराबरका सामान भित्र्याउँदै गर्दा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित खाँडो खोला नजिकै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
अटोरिक्सामा कपडा बरामद भएको बस्नेतले बताए। उनीहरुलाई रिक्सा र समान सहित राजविराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाइएको छ।
यसैगरी, राजविराज नगरपालिका ११ का नरेश साहलाई पनि पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको बस्नेतले बताए। उनको साथबाट करिब १५ हजार रुपैयाँ बराबरको रजनीगन्धा फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।