वीरगञ्ज- माछाको सुकुटी बनाउने व्यवसाय शुरु गरेपछि सहनी समुदायको आम्दानी ह्वात्तै बढेको छ।
परम्परागत रुपमा माछा मार्ने गरेका सहनी समुदायले व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका हुन्। बाराको देवताल गाउँपालिका– ६ रौवाहीको सहनी समुदायले माछाको सुकुटी बनाएर व्यापार गर्न थालेको हो।
जिल्ला कृषि विकास कार्यालयले २५ हजार रुपैयाँ अनुदान सहयोग गरेपछि उक्त समुदायले कुल ५० हजार रुपैयाँको लागतमा माछा सेक्ने भट्टी निर्माण गरेका छन्।
विगत २२ वर्षदेखि माछाको सुकुटी उत्पादन गर्दै आएका इन्द्रजित सहनी यही व्यापारबाट घरखेत जोडेको बताउछन्। उनका अनुसार उत्पादित सुकुटी मुख्य रुपमा काठमाडौँमा बिक्री हुँदै आएको छ।
उनले भने, ‘सुकुटी बेच्नका लागि बजारको समस्या छैन।’ कोइलाको आगोमाथि तारजाली रहेको भट्टीमा माछा पोलेर सुकुटी बनाइन्छ। यहाँको सुकुटीको काठमाडौँमा अत्याधिक माग रहेको उनको भनाइ छ। करिब तीन क्विन्टल माछा सुकाएपछि एक क्विन्टल सुकुटी बन्छ।
काठमाडौँका व्यापारीले प्रतिकिलो सुकुटी १ हजार रुपैयाँमा किनेर प्रतिकिलो १ हजार ५ सयसम्ममा बिक्री गर्ने गरेका रामेश्वर सहनीले बताए। उनले प्रतिमहिना १ सय ५० क्विन्टल काँचो माछाको सुकुटी बनाएर बिक्रीका लागि काठमाडौँ पठाउने गरेका छन्।
अहिले रौवाहीका अन्य सहनी परिवारले समेत व्यावसायिक रुपमा सुकुटीको व्यापार गर्न थालेका छन्।
'मासिक ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,' स्थानीयवासी छट्टु सहनीले भने। सहनी समुदाय अहिले अन्य पेसा छोडी सुकुटी व्यवसायतर्फ आकर्षित भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।