सोल- दक्षिण कोरियामा आजबाट सुरु हुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागी हुन उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको छ।
उत्तर कोरियाको तर्फबाट किम योङ–नाम नेतृत्वको एक प्रतिनिधिमण्डल शुक्रबार दक्षिण कोरिया पुगेको हो। नाम उत्तर कोरियाको संसदका संवैधानिक प्रमुख हुन्।
उनी लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली उच्च सरकारी अधिकारी हुन्। उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सामेल छिन्।

नाम नेतृत्वको प्रतिनिधिमण्डल बोकेको विमान शुक्रबार बिहान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
सेतो रङ्गको जेट विमान शुक्रबार इन्चोन विमानस्थलमा अवतरण गरेको यहाँका राष्ट्रिय टेलिभिजनहरुले प्रशारण गरेका थिए।
विमान अवतरणका क्रममा विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। ठूलो संख्यामा सुरक्षाकर्मी तथा हवाई उड्डयन क्षेत्रका अधिकारीहरु विमानस्थलमा उपस्थित थिए।

उत्तर कोरियाको राष्ट्रिय झण्डा राखिएको उक्त विमानमा उत्तर कोरियाली नेता नामको साथमा अन्य ३ जना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ।
उक्त प्रतिनिधिमण्डल आइतबारसम्म यहाँ रहने छ।
राष्ट्रिय एकता मन्त्रीद्वारा स्वागत
उत्तर कोरियाली उक्त उच्चस्तरीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्रीले स्वागत गरेका छन्। दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन उक्त प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुगेका थिए।

एकतामन्त्री गियोनसँगै मन्त्री च्यो, उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपोलगायत स्वागतका लागि विमानस्थल पुगेका दक्षिणको एकता मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
विदेशीहरुको स्वागतका लागि दिने उच्चस्तरीय सम्मान दक्षिण कोरियाले दिएको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।