माले- माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले आफ्नो देशको मामिला आफैँ मिलाउनु पर्ने बताएका छन्।
राष्ट्रपति कार्यालयद्धारा बिहीबार जारी वक्तव्यमा आफ्नो देशको मामिला आफैँ मिलाउन सक्ने क्षमता र इमान्दारिता पुष्टि गरिले उल्लेख छ।
उनले पछिल्लो राजनीतिक विषय माल्दिभ्सका नागरिकसँग सम्वन्धित भएको र देशको मान–सम्मान, सरकार र भूमि बिक्रीका लागि नभएको पनि स्पष्ट पारेका छन्।
यसैबिच माल्दिभ्स सरकारले देशको संकटकालीन अवस्थाका बारेमा जानकारी गराउन चीन, पाकिस्तान र साउदी अरबमा तीन जना मन्त्री पठाएको छ।
सर्वोच्च अदालतको गत हप्ताको आदेशपछि माल्दिभ्स राजनीतिक संकटमा फसेको छ। तर उक्त आदेशलाई अस्विकार गर्दै सोमबार राती राष्ट्रपतिले १५ दिने संकटकाल घोषणा गरेका छन्।
संकटकालको घोषणा गरेलगत्तै पूर्व राष्ट्रपति महमुन अब्दुल गयुम र प्रधानन्यायाधीश अब्दुल्लाह सइदलाई गिरफ्तार गरिएको थियो। उनीहरुलाई सरकार विघटन गर्ने षड्यन्त्र गर्न खोजेको आरोप लगाइएको छ।
माल्दिभ्सको सर्वोच्च अदालतले गएको बिहीबारको फैसलामा जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएको थियो।
उक्त फैसलाको कार्यान्वयन गर्दा माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिद र पूर्वउपराष्ट्रपति अहमद अदिबमाथिको आरोप तथा जेल सजाय दुवै निष्कृय हुन्छन्। तर माल्दिभ्स सरकार उनीहरुलाई रिहा गर्ने पक्षमा नरहेकोले सरकार र अदालतबीच विवाद उत्पन्न भएको हो।
सोही आदेशबमोजिम नै पूर्वराष्ट्रपति गैयुमलाई मध्यरातमा उनकै निवासबाट पक्राउ गरिएको हो।
उनले माल्दिभ्समा ३० वर्षसम्म राष्ट्रपतिको रुपमा शासन गरेका थिए। सन् २००८ मा भएको पहिलो राष्ट्रपतीय प्रजातान्त्रिक निर्वाचनमा उनी पराजित भएका थिए।
पक्राउ पर्ने पूर्व राष्ट्रपति गैयुम वर्तमान् राष्ट्रपति यमिनका सौतेला दाजु समेत हुन्। उनी माल्दिभ्समा सबैभन्दा बढी शासन गर्ने राष्ट्रपति मानिन्छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।