बेइजिङ- चीनले अफ्रिकन यूनियन(एयू)विरुद्ध जासुसी गरेको भन्ने भनाई हल्ला मात्र भएको एयू अध्यक्ष मोउसा फाकी महमतले बताएका छन्।
बेइजिङमा भएको सातौँ चीन–एयू रणनीतिक वार्ताको सह–आयोजनापछि चिनियाँ विदेशमन्त्री वाङ यीसँग बिहीबार गरिएको संयुक्त पत्रकार सम्मेलनमा फाकीले चीनले एयूविरुद्ध जासूसी गरेको भनाई निराधार कुरा भएको बताएका हुन्। सन् २०१७ एयू प्रमुखको जिम्मेवारी सम्हालेपछि फाकीको यो पहिलोे चीन भ्रमण हो।
फाकीले चीन र एयूबीचको सम्बन्ध ‘नडग्मगाउने’ खालको भएको बताउँदै बजारमा आएका हल्लाले सम्बन्धमा प्रभाव नपार्ने जिकिर गरे। उनको कथन थियो,‘चीनलाई एयूविरुद्ध जासुसी गर्नु अनावश्यक र असम्भव छ।’
फ्रान्सको पत्रिका ‘ले मोन्डे’ले एयू सम्मेलन केन्द्र जासुसी यन्त्र जडान गरी बनाएको र संघलाई सन् २०१२ मा उपहार दिएको तथा यसको सहायतामा गोप्य तथ्याङ्क लिने गरेको भनी उल्लेख गरेपछि यसबारे विश्वभर तरङ्ग पैदा भएको थियो।
‘अहिले हामीले अफ्रिकी जनताको फाइदाका लागि चीनसँग अझबढी सहकार्य गर्न चाहेका छौँ। यस्ता हल्लाले हामीलाई टुटाउने छैन।,’ फाकीले सञ्चारकर्मीहरुसँग भने।
एयू सम्मेलन केन्द्र चीन–अफ्रिका मित्रता र सहकार्यको प्रतीक भएको बताउँदै चिनियाँ विदेश मन्त्री वाङले चीनले कुनै पनि व्यक्ति वा शक्तिलाई आफूहरूको पारस्परिक सम्बन्धमा समस्या ल्याउन नदिने दावि गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।