काठमाडौं– माघ ७ गते राती कमलादीको ल्याण्डमार्क होटल एण्ड अपार्टमेन्टमा भएको सामूहिक बलात्कार घटनामा युवतीले ७ लाख रुपैयाँ लिएको छानबिनमा खुलेको छ। घटनामा प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएको भन्दै उनीहरुविरुद्ध समेत मुद्दा चलाउन सिफारीस भएको छ। छानबिन समितिले डिएसपी, इन्सपेक्टर र सईको मिलापत्रमा प्रत्यक्ष संलग्नता देखिएको भन्दै त्यस्तो सिफारीस गरेको हो।
एसपी रामदत्त जोशी नेतृत्वको छानबिन समितिले बिहिबार एसएसपी रबिन्द्र धानुकलाई बुझाएको हो। समितिले मिलापत्र गराउने तथा घटना लुकाउनेहरु उपर समेत कडा कारबाहीको सिफारीस गरेको छ। फौजदारी दायित्व देखिएमा उनीहरुविरुद्ध समेत मुद्दा चलाउन सकिने छानबिन समितिका संयोजक जोशीले बताए। प्रारम्भिक अनुसन्धानमा उनीहरुले बलात्कार घटना थाहा हुँदाहुँदै मिलापत्र गराएको प्रष्ट भइसकेको छ। जसकारण उनीहरुविरुद्ध समेत मुद्दा चल्ने सम्भावना छ।
समितिको बिज्ञप्तीमा भनिएको छ– तीनै जना उपर हदैसम्मको कडाभन्दा कडा कारबाहीको सिफारीस समेत भएको र मुद्दा अनुसन्धानको क्रममा निजहरुले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानुन बमोजिम कारबाही समेत अघि बढी जाने।’
बिहिबार परिसरद्वारा जारी बिज्ञप्तीमा घटना लुकाउने र मिलापत्र गराउनेहरुलाई पनि कारबाही गर्न सिफारीस गरिएको उल्लेख छ। डिएसपी तिलम भारतीलाई वृत्तबाट हटाएर कडा कारबाही गर्न सिफारीस गरिएको छ। उनलाई एक साताअघि नै त्यहाँबाट हटाइ सकिएको छ।
मिलापत्रमा संलग्न डिएसपी भारतीलाई वृत्तबाट हटाइएको छ भने इन्सपेक्टर लक्ष्मण सिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परीसकेका छन्।
गत माघ ७ गते प्रेमी शैलेस कार्कीसँग होटलमा गएकी २० वर्षिय युवतीलाई चार जनाले बलात्कार गरेका थिए। घटनामा संलग्न कार्कीसहित विकास गौतम, दीपक श्रेष्ठ र रवी पौडेल फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।