काठमाडौं- ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप’ राष्ट्रिय पुरुष भलिबलको फाइनल खेल लगातारको बर्षाले बिथोलिएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा खेलाडीहरु पानी रोकिने प्रतीक्षामा छन्।
दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल सोमबारका लागि तोकिएको भए पनि दुई सेट भइसक्दा बर्षाले स्थगित हुन पुग्यो। मंगलबार मध्यान्ह १२ बजे तोकिएको खेल बिहानदेखिको बर्षाका कारण अन्योलमा परेको छ।
सोमबार १ बजेको फाइनल खेलका लागि त दर्शकको उपस्थिति पनि राम्रो थियो। तर पनि इन्डोर खेल आउटडोरमा गर्दाको दुःख हेरेर सबै निराश हुँदै फर्किए।
सोमबार खेलको तेस्रो सेट भइरहँदा पानी परेर खेल स्थगित भएको थियो। त्यसबेलासम्म दुबै टोलीले एक–एक सेट जितेका थिए।
‘यहाँ त बिजोग नै भयो नि, हिजो पनि पानीले गर्दा नै खेल हुन सकेन। आज पनि बिहानदेखि नै पानी परिरहेको छ, रोकिने छाँट छैन। आज मात्रै खेलाडीहरु चार पटक कोर्टमा पुगेर फर्किसकेका छन्’ प्रतियोगिता संयोजक बिकास गुरुङले भने।
अब बिकल्पमा के गर्न सकिन्छ भन्ने छलफलमा आफूहरु रहेको उनले सुनाए। ‘हामी ब्यवस्थापन बैठकमा छौँ, कतै इन्डोरमा गर्न सकिन्छ कि भन्ने प्रयास गरिरहेका छौँ’ उनले भने।
फाइनल मात्रै होइन यसअघि केही खेल पनि बर्षाका कारण प्रभावित भएका थिए।
दुई विभागीय क्लबको सेमिफाइनल भिडन्तमा नेपाल पुलिसले नेपाल एपीएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। आइतबार भएको सेमिफाइनलमा पुलिसले एपीएफमाथि ३–२ को जित निकाल्यो।
यस्तै आर्मीले शनिबार गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। शनिबार तय भएको नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल वर्षा र खराब प्रकाशका कारण स्थागित भएपछि आयोजकले आइतबार पुनः सुरुबाटै खेलाएका थिए।
सोमबार बिहान भएको खेलमा गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई ३–२ ले हराएर तेस्रो भएको थियो।
प्रगतिशील युवा नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्नेछ। दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ जित्नेछन्। पुरुष भलिबलमा यो सर्वाधिक पुरस्कार राशी हो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल जित्नेछन्। विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।